काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले केटा मान्छेसहित केही महिलाहरूले आफ्नो श्रीमतीलाई गालीगलौज गर्नुका साथै हातपात गरिएको बताएका छन्।
सोमबार दिउँसो माइतीघर मण्डलामा शोभा पाठक र महेश पत्नीबिच झडप भएको थियो । शोभा पाठक, रश्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्बहाली गर्नुपर्ने भन्दै धर्ना बसिरहेका बेला महेश पत्नी अम्बिकासहित केही महिलाहरू पनि माइतीघर पुगेका थिए ।
झडपपछि सचिव बस्नेतले लेखका छन्,‘मेरो र हाम्रो परिवारमाथि गरिएको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरू केटा मान्छेले समेत मेरो श्रीमती सहित केही महिलालाई गालीगलौज गर्नुका साथै हातपात समेत गरेका छन्।
उल्टै, मेरो श्रीमतीसहित आठ जनालाई प्रहरीले गिरफ्तार गरेको छ।’माइतीघर मण्डला जस्तो सार्वजनिक स्थललाई मन नपरेका व्यक्तिलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने थलोका रूपमा प्रयोग गरिनु निन्दनीय भएको उनले बताए ।
