काठमाडौं । भारतको गोवामा अन्तर्राष्ट्रिय मानव तस्करीमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेसँगै मानव तस्करीमा नेपालको बाटो प्रयोग हुने गरेको दाबी गरिएको छ ।
दिल्ली प्रहरीले पक्राउ गरेका व्यक्तिहरूले केन्द्रीय एशियाका गरिब परिवारका महिलाहरूलाई जागिरको प्रलोभन देखाएर नेपाल हुँदै भारत पुर्याउने गरेको बताइएको छ । यसरी भारत पुर्याइएका महिलाहरूलाई उनीहररूले यौन कार्यमा लगाउने गरेको पाइएको छ ।
तस्करहरूको पक्षका वकिलहरूले यी आरोप अस्वीकार गरे पनि बीबीसीले पीडितहरूसँग कुराकानी गरेको छ । ती महिलाहरूले आफूहरूलाई जबरजस्ती यौन कार्यमा लगाइएको दाबी गरेका छन् । उनीहरूले आफूहरूलाई धेरै ग्राहककहाँ पठाइएको तर कहिल्यै पनि त्यसबापत पैसा नपाएको पनि बताएका छन् ।
उद्धार गरिएका ती महिलाहरू आफ्नो घर फर्कन चाहन्छन् तर भारतमा कानुनी प्रक्रियामा अल्झिएका छन् । भिसासम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा उनीहरूले मुद्दा खेपिरहेका छन् ।
मानव तस्करीको प्रत्यक्षदर्शी भएको अभियोग पनि थप केही व्यक्तिहरूलाई छ । भारतको अदालतले प्रत्यक्षदर्शीका रूपमा उनीहरूको बयान दर्ज नगरेसम्म उनीहरू भारतमै बस्नु पर्नेछ । भारतबाट बीबीसी संवाददाता दिलनवाज पासा र भिडिओ जर्नालिष्ट दीपक जस्रोसियाको यो भिडिओ रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् वा तलको भिडिओ प्ले गर्नुहोस् ।
(समाचार तथा भिडिओ बीबीसी नेपालीबाट साभार गरिएको हो ।)
FACEBOOK COMMENTS