धनुषा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले धनुषाको ढल्केबरमा रहेको देशकै सबैभन्दा ठूलो विद्युत् सब स्टेशनको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री खड्काले सब स्टेशनबाट प्रवाह भैरहेको अन्तर्देशीय प्रसारण लाइनको अवस्था बारेमा विस्तृत जानकारी लिएका छन् ।
मन्त्री खड्काले ढल्केवर ग्रीड सब स्टेशनका प्रमुख सूर्यनारायण मण्डलसँग छलफल गर्दै प्राधिकरणको कार्यक्षमता र सुधारका लागि आवश्यक कदमहरूको सन्दर्भमा निर्देशन पनि दिएका थिए । उनले विद्युत आपूर्ति प्रणालीको सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्न प्राथमिकता दिनुपर्ने निर्देशन दिए ।
मन्त्री खड्काले ढल्केबर विद्युत सब स्टेशनको अवस्थाबारे थप जानकारी प्राप्त गरेपछि भविष्यमा आवश्यक नवीकरण र विस्तारका उपायहरूलाई ध्यानमा राख्दै उपयुक्त निर्णयहरू लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
निरीक्षण भ्रमणमा नेपाल विद्युत प्राधिकरण मधेश प्रदेश क्षेत्रीय कार्यालयका प्रमुख मनोज यादव र अन्य उच्च अधिकारी पनि उपस्थित थिए। भ्रमणले विद्युत प्राधिकरणको योजनाहरू र सम्भावित सुधारका उपायहरूलाई थप स्पष्ट र कार्यान्वयनयोग्य बनाउने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS