काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र राइजिङ हाइड्रोपावर प्रालिबीच संस्थागत परामर्श सेवासम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ ।
मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनाकालदेखि सर्वसाधारणलाई प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
एक कार्यक्रमका बीच राइजिङ हाइड्रोपावर प्रालिका तर्फबाट अध्यक्ष शङ्करबहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । संस्थागत परामर्श सेवासहित आवश्यक पुँजी संरचना परिवर्तन परामर्श लिन तथा कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यबमोजिम कार्य गर्न आवश्यक सहजीकरणका लागि उक्त सम्झौता गरिएको हो ।
राइजिङ हाइड्रोपावर कम्पनी प्रालि नेपालको जलविद्युत् क्षेत्रमा दिगो विकास र स्वदेशी स्रोतको सदुपयोगमार्फत ऊर्जा उत्पादनमा समर्पित एक अग्रणी संस्था हो । कम्पनीको स्थापना २०६२ साल फागुन २२ गते भएको हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित कम्पनीको प्रमुख आयोजना सेलाङ खोला साना जलविद्युत् आयोजना (९९० किलोवाट) ले वार्षिक ६.७७ गिगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्दै आएको छ । यस आयोजनाको कमर्सियल अपरेशन डेट (सीओडी) २०८१ भदौ २ गते रहेको छ ।
२०८१ साल चैत्र २७ गतेको साधारणसभाबाट कम्पनीले प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रूपमा परिणत गर्न र आफ्नो नाम परिवर्तन गरी टेनेक्स हाइड्रो होल्डिङ लिमिटेडको नाम राख्ने प्रस्ताव पारित भएकोले उक्त नयाँ नामबाट कारोबार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन पेस गरेको छ । आव २०८२/८३ भित्र सर्वसाधारणलाई शेयर निष्कासन गरी ४० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउने कम्पनीले जानकारी गराएको छ । यस कम्पनीले अन्य विभिन्न पाँचवटा जलविद्युत् कम्पनीहरूमा लगानी प्रवर्द्धन गर्ने समेत लक्ष्य रहेको जानकारी गराएको छ ।
FACEBOOK COMMENTS