काठमाडौं । नबिल बैंक बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट एकैसाथ सम्मानित भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रूपमा प्रदान गरिने ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड (बीपीए)–२०२५’ अन्तर्गत नबिल बैंकले निजी क्षेत्रको बैंकतर्फ लगातार तेस्रो पटक ‘गोल्ड अवार्ड’ प्राप्त गरेको हो ।
यसका साथै, बीपीए पुरस्कारको इतिहासमै पहिलो पटक सुरु गरिएका ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवै विधामा बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ समेत हात पारेको छ ।
मंगलबार काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दिप बाबु पौडेललाई संयुक्त रूपमा यी अवार्डहरू हस्तान्तरण गरेका हुन् ।


आइक्यानले आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दिगोपना जस्ता कडा मापदण्डहरू मूल्याङ्कन गरी नबिल बैंकलाई उत्कृष्ट ठहर गरेको हो। बैंकले यसअघि सन् २०२३ र २०२४ मा पनि यो विधामा स्वर्ण पदक जितेको थियो । यो पुरस्कृत प्रतिवेदन अब दक्षिण एसियाली स्तरको ‘साफा बीपीए अवार्ड’ का लागिसमेत मनोनीत हुनेछ ।
विगत चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले हाल देशभर २६६ शाखा र ३१८ वटा एटीएममार्फत २५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।
बैंकले पछिल्लो समय दिगो बैंकिङको अवधारणा अनुरूप डिजिटल बैंकिङका लागि ‘एनबैंक’ समेत सञ्चालनमा ल्याएको छ।