काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले ल्याएको बजेटप्रति मिश्रित प्रतिक्रिया जनाएको छ ।
एसोसिएशनले साना क्षमताका विद्युतीय र कम्बसन इन्जिन भएका सवारीसाधनलाई व्यवस्था गरिएको भन्सार महसुल स्वागतयोग्य भए पनि १०० किलोवाट क्षमता भन्दा बढीका विद्युतीय तथा २०० सीसी भन्दा माथिका कम्बसन इन्जिन भएका मोटरसाइलकहरूमा गरिएको अन्तःशुल्क बृद्धिप्रति आपत्ति जनाएको छ ।
‘सरकारले आयात प्रतिस्थापन गर्ने मुख्य साधनको रुपमा उद्योग स्थापना र उत्पादनलाई उच्च प्राथमिकता दिने उद्देश्य अनुरुप सवारी साधन एसेम्बल उद्योगलगायत इलेक्ट्रीक रिक्सा, मोटरसाइकल र स्कूटर उत्पादनमा लाग्ने पार्टपूर्जा वा कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने जुन नीति ल्याएको छ, त्यो ज्यादै सराहनीय छ,’ नाडाले भनेको छ, ‘सरकारले १०० किलोवाट क्षमताका विद्युतीय सवारी साधन, १५०० सीसीसम्मका कम्बसन इन्जिन भएका सवारी साधनलगायत २०० सीसीसम्मका कम्बसन इन्जिन भएका मोटरसाइकलहरुलाई आवश्यकताको सवारी साधनको रुपमा लिएको देखिन्छ, जुन स्वागतयोग्य छ ।’
तर, अर्कोतर्फ यस बजेटले १०० किलोवाट क्षमता भन्दा बढीका विद्युतीय सवारी साधन तथा २०० सीसी भन्दा माथिका कम्बसन इन्जिन भएका मोटरसाइकलहरुमा जुन किसिमले अन्तःशुल्क तथा भन्सार महशुलमा बृद्धि गरिएकोे छ, त्यसले उच्च किलोवाट क्षमता भएका विद्युतीय तथा कम्बसन इन्जिन भएका सवारी साधन व्यवसायीहरुलाई आफनो व्यवसाय सञ्चालन गर्न कठीन मात्र हुने नभई आफनो व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आएको नाडाको भनाइ छ । त्यसकारण उक्त महशुलमा केही सुधार गर्नुपर्ने माग व्यवसायीहरूले गरेका छन् ।
त्यसैगरी यस बजेटले सवारी साधन खरीद गर्न चाहनेहरुले मात्र अनिवार्य रुपमा प्यान कार्ड लिएको हुनु पर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था सवारी साधन खरिद गर्न चाहनेहरुका लागि मात्र गरिनु न्यायोचित नदेखिने नाडाको भनाइ छ ।
नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणका लागि बजेटले गरेको व्यवस्था राम्रो रहेको भन्दै त्यसले नेपालमा चाँडैनै प्रदर्शनीहल निर्माण हुने अपेक्षा नाडाको छ ।
FACEBOOK COMMENTS