काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपालले आयोजना गर्ने १५औं संस्करणको ‘नाडा अटो–शो, २०२२’ का लागि रष्ट्रिेशन खुला गरिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने प्रदर्शनीका लागि नाडाले आगामी बिहीबारदेखि रजिष्ट्रेशन लिने भएको छ । प्रदर्शनीमा सहभागी हुन इच्छुक व्यक्ति तथा संस्थाहरूले स्टल बुकिङका लागि यही जेठ २६ गते बिहीबारदेखि ३० गते सोमबारसम्ममा रजिष्ट्रेशन गरिसक्नुपर्ने छ ।
सीमित ठाउँ तर प्रदर्शनीसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्यधिक माग भएकाले यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाले स्पष्ट पारेको छ । प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवम् ग्यारेज उपकरणहरूलाई समूह अनुसार ठाउँ छुट्टयाइएको हुँदा सोहीअनुरूप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको नाडाको भनाइ छ ।
विगतका संस्करणहरूमा उल्लेखनीय रूपमा सोधपुछ भएकाले यस वर्षदेखि कमर्शियल भेहिकलहरूलाई पनि समावेश गर्ने उद्देश्यले कमर्शियल भेहिकलहरूको सहभागिताका लागि समेत स्टल बुकिङ रजिष्ट्रेशन आह्वान गरिएको छ ।
सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाहरूको एक मात्र भव्य प्रदर्शनी आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म आयोजना गरिने नाडाले जानकारी दिएको छ ।
कोभिड संक्रमण न्यून हुँदै जाँदा सुस्त रूपमा गति लिन थालेको नेपाली अर्थतन्त्र पुनः सुस्ताइरहेको अवस्थामा नाडा अटो–शो २०२२ ले केही हदसम्म भए पनि उद्योगी, व्यापारी एवम् उद्यमीहरूमाझ अनुकुल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नयाँ ऊर्जा थप्न सक्ने आयोजकको विश्वास छ ।
FACEBOOK COMMENTS