काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सम्पन्न भएको छ ।
साउन २१ गतेदेखि २६ गतेसम्म आयोजित एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी थिए । उक्त एक्स्पो एक लाख भन्दा धेरैले अवलोकन गरेको नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले जानकारी दिइन् ।
उनले एक्स्पोसँग प्रत्यक्ष तथा परोक्षरूपमा संलग्न सम्पूर्णलाई धन्यवाद दिँदै आफूहरू अपेक्षा भन्दा बढी सफल भएकोमा खुसी व्यक्त गरेकी छिन् । ‘यो पछिल्लो ६ दिन एकदम अद्भुत रह्यो । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को समापन कार्यक्रममा उभिँदा, म अत्यन्त उत्साहित छु,’ अध्यक्ष वैद्यले भनिन्, ‘तपाईंहरूले यो एक्स्पोलाई साँच्चिकै नेपालको सबैभन्दा ठूलो अटो एक्स्पो बनाउनुभयो । एक लाख भन्दा बढी दर्शक, प्रत्येक स्टलमा भएको बिक्री, मोबिलिटी सम्बन्धित प्यानल डिस्कसनमा भएको उत्कृष्ट सहभागिताका साथै तपाईंहरू प्रत्येकले देखाउनुभएको ऊर्जा, विचार, सहकार्य र जोश देख्दा मलाई नाइमाले नेपालको मोबिलिटी क्षेत्रमा नयाँ आयामको विकाश गरेको अनुभव भएको छ ।’
उनले एक्स्पोका प्रायोजक नेशनल इन्स्योरेन्स र एभरेष्ट बैंकका साथै सबै साझेदारहरूको सामुहिक योगदानले एक्स्पो सफल भएको पनि बताइन् ।
यस्तै, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले नाइमाले एक्स्पोका दौरान पाँच दिनसम्म निरन्तर सिकाइका सत्रहरू सञ्चालन गरि नाइमा सो क्षेत्रको समग्र विकासमा प्रतिवद्घ छ भन्ने सन्देश प्रवाह गरेको बताए । ती सत्रहरू सहभागीहरूका लागि नि:शुल्क प्रवेशसहित नेपाल पुलिस क्लबमा नेपाल र भारतका लब्धप्रतिष्ठित विज्ञहरूको सहभागितामा सञ्चालन गरिएको जानकारी उनले दिए ।
नाइमाले भविष्यमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा सरकार, सरोकारवालाहरू र दातृ निकायहरू तथा उपभोक्ताहरूको सहभागितामा आयोजना गर्ने दुलालले बताए ।
सवारी साधन मात्रै प्रदर्शनीमा राखिएको नेपालकै सबैभन्दा ठूलो एक्स्पोमा पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५००, तेस्रो दिन १९ हजार ५००, चौथो दिन २१ हजार ५००, पाँचौ दिन २२ हजार र छैठौँ दिन सात हजार ८०० जना दर्शकहरूले अवलोकन गरेको नाइमाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, स्थानिय तहका जन प्रतिनिधि, उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी, अटोमोबाइल क्षेत्रका अग्रज व्यक्ति, कुटनितिक नियोगका पदाधिकारी, तथा सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहेको एक्स्पो सोमबार साँझ विशेष कार्यक्रमका साथ सम्पन्न गरिएको थियो ।
FACEBOOK COMMENTS