काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका नेतृत्वकर्ता दुर्गा प्रसाईंले नेपालमा राजा फर्काउने अभियानमा साथ नदिए भारत पाँच टुक्रामा विभाजित हुने बताएका छन् ।
नेपालमा राजसंस्था फर्काउनेगरी जुरमुराएको नागरिक आन्दोलनलाई साथ दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई आग्रह गर्दै उनले त्यस्तो दाबी गरेका हुन् । मोदी र आदित्यनाथले आफूहरूको आन्दोलनलाई समर्थन नगरे भारत टुक्रिने दाबी उनको छ ।
‘योगी आदित्यनाथ र नरेन्द्र मोदीले यो व्यवस्था फर्काउन हामीलाई साथ दिनुपर्छ । म त्यहाँको प्रधानमन्त्री र मुख्यमन्त्रीलाई आग्रह गर्छु– नेपालमा व्यवस्था परिवर्तन गर्नुभएन भने तपाइँहरूको देश (भारत) पाँच टुक्रा हुँदैछ,’ उनले भने । युरोपियन युनियन र यूएसआईडीको फण्डिङमा नेपालमा राजसंस्था र हिन्दुराज्य सिध्याएर क्रिश्चियानिटी बढाएको चर्चा गर्दै प्रसाईँले नेपाल क्रिश्चियनहरूको इपीसेन्टर बन्दा भारतको मणिपुरमा आगो लागेको तर्क गरे ।
‘युरोपियन युनियन र यूएसआईडीको फण्डिङमा यहाँ राजसंस्था सिध्याउने काम भयो । हिन्दु राष्ट्र सिध्याउने काम भयो र क्रिश्चियानिटी बढाउने काम भयो । यो देश क्रिश्चियनहरूको इपीसेन्टर बन्यो । यसको कारणले आज मणिपुरमा आगो लागेको छ,’ उनले भने, ‘क्रिश्चियन राज्य बनाउनका लागि मणिपुर छुट्टिँदैछ । अर्को डिजाइन पहाडी भू–भाग सिक्किम हुँदै मणिपुरसम्म क्रिश्चियन राज्य बनाउने ग्राण्डडिजाइन छ । त्यो असफल बनाउनका लागि भारतले नेपालको व्यवस्था परिवर्तनमा साथ दिनुपर्छ । साथ नदिए भारतको आफ्नै देश टुक्रिन्छ । यो कुरामा क्लियर भए हुन्छ ।’
FACEBOOK COMMENTS