काठमाडौँ । एनसेलको सेयर खरिद बिक्री प्रकरणमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्षमा सत्ता गठबन्धन पुगेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको बताइएको छ ।
एनसेलको सेयर खरिद बिक्रीको विषय गम्भीर रहेको र सरकारले नै छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको हो । सरकारी निकायको स्वीकृति बिना नै बिक्री भन्दै यस्तो निष्कर्ष निकालेको सहभागी नेताहरुले बताएका छन् ।
बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपालको कानुन बमोजिम सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर मात्रै सेयर खरिद बिक्री गर्नुपर्ने व्यवस्था भएपनि त्यसो हुन नसकेको देखिएको बताए । सेयर खरिद बिक्री शंकास्पद देखिएको भन्दै गठबन्धनले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको उनको तर्क छ ।
एनसेल सेयर खरिद बिक्री बारे मन्त्रीपरिषद्ले पनि निर्णय गर्ने र सरकारका निकायहरुले यसलाई गम्भीरतापूर्वक छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन सहमत भएको उनको भनाइ छ ।
FACEBOOK COMMENTS