काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेका र बक्यौता महसुल तिर्न अटेर गरिरहेका उद्योगहरुमा तिहारमै लाइन काटिदिने चेतावनी दिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौताबापतको किस्ता तिर्न नआउने उद्योगहरुमा जुनसुकै बेलामा पनि लाइन काट्न सकिने बताएका हुन् ।
उनका अनुसार हालसम्म १३ वटा उद्योगले किस्ता बुझाएका छन् भने अझै २५ वटा उद्योगले महसुल बुझाउन बाँकी छ । बुझाएकाहरूले पनि कसैले एक किस्ता र कसैले पाँच किस्तासम्मको तिरेका छन् । सबै उद्योगहरूलाई बक्यौदा महसुल चाँडो तिर्न र नतिरे तत्काल लाइन काटिदिने चेतावनी प्राधिकरणले दिएको हो ।
महसुल नबुझाएका उद्योगहरुमा तिहारभित्र जतिबेला पनि लाइन काटिनसक्ने प्राधिकरणले जनाएको छ ।
बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महिनाको किस्ताबन्दी सुविधा दिएको छ । यो सुविधा प्रयोग गरेर शुक्रबारसम्म हामा आइरन एण्ड स्टिलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । लक्ष्मी स्टिलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टिलले ५० लाख ४३ हजार र अशोक स्टिलले ६३ लाख रुपैयाँ बुझाएको छ ।
त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार रुपैयाँ एकै पटक बुझाएको छ । सम्राट सिमेन्टले तीन किस्ता बापतको ४० लाख ४७ हजार, नवनेपाल प्लाष्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेको प्राधिकरणले जानकारी दिएको छ । आईतबार थप ४ वटा उद्योगले किस्ता तिरेका छन् । तर, ती उद्योगहरुले आफ्नो नाम सावर्जनिक नर्गु भनेकाले सावर्जनिक नगरिएको सिलवालले बताए ।
FACEBOOK COMMENTS