काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा नवनिर्मित ३३-११ केभी, ६-८ एमभीए क्षमताको सबस्टेसन सञ्चालनमा ल्याएको छ ।
बुधबार साँझदेखि सञ्चालनमा आएको उक्त सबस्टेसनले सप्तरीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।
करिब १२ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो आयोजनाअन्तर्गत १० किलोमिटर लामो ११ केभी लाइनसमेत निर्माण गरिएको छ ।
नयाँ पूर्वाधार सञ्चालनमा आएसँगै खड्क नगरपालिका तथा सुरुंगा नगरपालिकाअन्तर्गत कदमाहा, लालपट्टा, कल्याणपुर लगायतका क्षेत्रमा रहेका करिब १५ हजार विद्युत् उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार नयाँ सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा लामो समयदेखि देखिँदै आएको कम भोल्टेज, बारम्बार लाइन ट्रिप हुने तथा विद्युत् आपूर्तिमा हुने अवरोधको समस्या उल्लेखनीय रूपमा घट्नेछ ।
यसले भोल्टेज प्रोफाइल सुधार गर्नुका साथै उपभोक्तालाई थप स्थिर, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने विश्वास लिइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मधेस प्रदेशमा विद्युत् सेवाको गुणस्तर सुधारतर्फ यो महत्वपूर्ण उपलब्धि भएको बताए ।