काठमाडौं । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजमा एकैदिन रक्तदानसँगै नि:शुल्क आँखा परीक्षण शिविर र विद्यार्थीहरुका लागि मक टेष्ट आयोजना गरिएको छ ।
बिहीबार कलेजमा लायन्स क्लब अफ भक्तपुर सिद्धकालीसँगको सहकार्यमा रक्तदान र आँखा परीक्षण शिविर सञ्चालन गरियो भने, इन्जिनियरिङ अध्ययनको तयारीमा रहेका विद्यार्थीहरुको मक टेष्ट पनि गरियो ।
सामाजिक उत्तरदायित्व अन्तरगत सेवाभावले आयोजित शिविरमा कलेजका प्राध्यापक, विद्यार्थी, कर्मचारीसँगै स्थानीयहरुले पनि उल्लेखनीय सहभागीता जनाएको कलेजको मिडिया रिलेसन अफिसर महेश पुजाराले जानकारी दिए । आँखा शिविरमा मोतियाविन्दु, जलविन्द्, दृष्टि जाँच, एलर्जी लगायतका जाँचहरु गरिएको थियो ।
यस्तै, सोही अवसरमा कलेजले नि:शुल्क मक टेष्ट समेत सञ्चालन गरेको थियो । इन्जिनियरिङ अध्ययन गर्ने तयारीमा रहेका विद्यार्थीहरुलाई प्रवेश परीक्षाको तयारीमा सहयोग पुगोस् भनेर नि:शुल्क मक टेष्ट राखेको थियो ।
उक्त मक टेष्टमा हर्ष जैसवाल प्रथम हुँदै नगद ५ हजार पुरस्कार समेत प्राप्त गर्दा सचेत सुवेदी र सोवित खत्री दोश्रो तथा तेश्रो भए । कलेजले उनीहरुलाई पनि ३ हजार तथा २ हजार नगद पुरस्कार प्रदान गरेको थियो । मक टेष्टमा २ सय बढी विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित यस कलेजले शैक्षिक सत्र २०८३ को लागि यही असार २५ गते प्रवेश परीक्षा सञ्चालन गर्दैछ । प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई आकर्षक छात्रवृत्ति दिइने तथा अन्य विद्यार्थीहरुलाई पनि प्रवेश परीक्षाको नतिजा अनुसार भर्ना गर्दा छुटहरु दिइने कलेजले जनाएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त यस कलेजले हरेक वर्ष करिब १५ करोड बराबरको छात्रवृत्तिहरु वितरण गर्ने गर्दछ ।