काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नेदरल्याण्ड्सको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार अपराहन्न ३:४५ बजेदेखि सुरू हुने छ ।
नेपालले यस सिरिजमा यसअघि खेलेका तीनमध्ये दुई खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध ५ विकेटको जित निकालेको थियो । त्यस्तै, तेस्रो खेलमा स्कटल्याण्डविरुद्ध २ रनको झिनो अन्तरको हार बेहोरेको थियो ।
नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले तीन खेल जितेको छ भने नेदरल्याण्ड्सले पनि तीन खेल नै जितेको छ ।
हाल लिग–२ को अङ्क तालिकामा नेपाल १५ खेलमा १० अङ्कसहित सातौँ स्थानमा छ । नेपालले १५ खेलमा चार खेल जितेको छ भने ९ खेलमा हार बेहोरेको छ र दुई खेलको नतिजा आएको छैन । त्यस्तै, नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा छ ।
यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुल्शन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी छन् । त्यस्तै, त्रिकोणात्मक टी–२० सिरिज खेल्ने टिममा किरणकुमार ठगुन्ना, रूपेश सिंह र लोकेश बम सहभागी हुने छन् ।
