काठमाडौं । फेसन नेटवर्क नेपालले नेपालमै पहिलोपटक ‘नेपाल फेसन फेस्टिभल’ आयोजना गरेको छ ।
‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलालाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ गत शुक्रबारदेखि आइतबारसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरिएको फेस्टिभलमा ८० वटा स्टलमार्फत पहिरन, गरगहना, मेकअप, स्वास्थ्य सेवा, शिक्षा, खानाका परिकारलगायत प्रदर्शन गरिएको थियो ।
फेस्टिभलको पहिलो दिन ‘द आर्ट अफ इन्फ्ल्यूएन्सः हाउ मेकअप ट्रान्सफर्म योर सोसल मेडिया गेम’ (दिव्या वैद्य), दोस्रो दिन ‘फेसन बिजनेस एसेन्सियल्सः मार्केटिङ, ब्राण्डिङ एण्ड रिटेल स्ट्राटेजिज’ (राइसा श्रेष्ठ), फेसन स्टाइलिङः क्राफ्टिङ युनिक लूक्स फर एडिटोरियल, रनवे एण्ड एभ्रीडे वेयर’ (पुरन जोशी) तथा तेस्रो दिन फेसन राइटिङ एण्ड क्रिटिसिज्मः क्राप्टिङ, कम्पेलिङ फेसन न्यारेटिभ्स’ (चारु चड्डा) विषयमा मास्टर क्लास तथा वर्कशप सञ्चालन गरिएको थियो ।
यसैबीच, करिब एक दशक अघिदेखि फेसन डिजाइनिङको क्षेत्रमा सक्रिय फेसन डिजाइनर दिलमाया मगरले पनि सो फेस्टिभलमा सहभागिता जनाएकी थिइन् । सन् २०१८ मा बागबजारस्थित आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनबाट फेसन डिजाइनिङमा डिप्लोमा गरेर आल आफ्नै बुटिक तथा फेसन डिजाइनिङको अध्यापन गराउने इन्स्टिच्यूट (एमकेएम फेसन हाउस) सञ्चालन गर्दै आएकी मगरले आफूले तयार पारेको फेसन डिजाइनहरू प्रदर्शन गराइन् ।
आफूले फेसन डिजाइनिङ अध्ययन गरेको आईआईएफटीको तर्फबाट फेसन फेस्टिभलमा सहभागिता जनाएकी उनका पहिरनहरू विभिन्न नौ जना मोडलहरूले प्रदर्शन गरेका थिए । डिजाइनर रनवेका लागि दिलमायाले नौवटै पहिरन तयार पारेकी थिइन् । उनले यसका लागि वेडिङ तथा पार्टीवेयर थिममा पहिरनहरू डिजाइन गरेकी थिइन् ।
फेस्टिभलअन्तर्गत डिजाइनर रनेवेमा नमूना फेसन कलेज, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनदेखि इन्टा अटायर, हेमास बुटिक, जूजू, रेजभोल कस्टेटिक्स, जेबीजी बीस्पोक, हेमाज बुटिक, इन्ता अटाएर, लोगो फेसन, नमूना कलेज अफ फेसन टेक्नोलोजी, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर, मेकअप दरबार, राष्ट्रिय पोशाक घर, सबाह नेपाल, पञ्चमणि ज्वेलर्स (मेहाका पहिरन), जुजु–करुणा आदि संस्थाले तयार पारेका पहिरनहरू विभिन्न मोडलले प्रदर्शन गरेका थिए ।
‘नेपाल फेसन फेस्टिभल’ ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले गत बिहीबार साँझ शुभारम्भ गरेकी थिइन् । आयोजक फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारले लामो समयको कठोर परिश्रमपछि नेपालमै पहिलो पटक एउटा भिन्नै प्रकारको फेस्टिभल अर्थात् नेपाल फेसन फेस्टिभल आयोजना गर्न सफल भएको बताए ।
फेसन जगतलाई फेसन उद्योगमा परिवर्तन गर्न यो क्षेत्रमा आबद्ध भएका सम्पूर्ण व्यक्ति, संघ, संस्था, उद्यमीलाई एकै ठाउँमा भेला पार्न, यो क्षेत्रमा भएका उपलब्धिहरूका बारेमा जानकारी गराउन तथा सरकारलाई नेपाल फेसन काउन्सिलको स्थापना गराउन माग गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको ताम्राकारको भनाइ थियो ।
फेसन फेस्टिभलका थप तस्बिरहरू–
FACEBOOK COMMENTS