काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान गरिएको छ ।
जापान ऊर्जा सुरक्षा संघ र नेपाल इन्जिनियरिङ कलेजको संयुक्त पहलमा यो प्रविधि बुधबार एक कार्यक्रमका बीचमा जडान गरिएको हो ।
कलेजका विद्यार्थीहरूका लागि अनुसन्धान र प्रयोगात्मक सिकाइमा टेवा पुर्याउने उद्देश्यले स्थापित गरिएको यस ऊर्जा टर्बाइन सौर्य र वायु दुबै स्रोतबाट ऊर्जा उत्पादन गर्न सक्षम छ । टर्बाइन सानो आकारको, कम कम्पनयुक्त, सजिलै मर्मत गर्न मिल्ने र कम हावामा पनि कार्य गर्न सक्ने बनावटमा तयार गरिएको छ ।
टर्बाइनमा नायलन फाइबर प्रयोग गरिएको छ भने जेनेरेटरमा पेटेन्ट प्राप्त स्थायी चुम्बकयुक्त रोटर अल्टरनेटर प्रविधि अपनाइएको छ, जसले प्रतिरोध टर्कलाई कम गरी उच्च ऊर्जा उत्पादनमा सहयोग पुर्याउँछ ।
कार्यक्रममा जापान ऊर्जा संघका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहरा र नेपाल प्रतिनिधि निर्देशक नरेश महर्जनले कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीलाई आवश्यक उपकरणहरू हस्तान्तरण गरेका थिए ।
प्राचार्य भण्डारीले यस प्रोजेक्टले कलेजका विद्यार्थीहरूलाई वैकल्पिक ऊर्जा क्षेत्रमा अनुसन्धान गर्न सशक्त बनाउने विश्वास व्यक्त गरे ।
इन्जिनियर किरिहरा, जो ७२ वर्षीय भिजिटिङ प्रोफेसर समेत हुन्, उनले वैकल्पिक ऊर्जा स्रोतमा लगानी गर्नाले नेपालमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिने बताए। विद्यार्थीहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा उनले प्रोटोटाइप टर्बाइनले शैक्षिक अनुसन्धानमा नयाँ आयाम थप्ने उल्लेख गरे।
यस परियोजनाबाट नेपाली विद्यार्थीहरूमा हरित प्रविधिको ज्ञान र उपयोगिताबारे गहिरो बुझाइ विकास हुने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS