काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सेप्टेम्बर ६ र ९ मा काठमाडौंको दशरथ रङ्गशालामा बङ्गलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय भएको जानकारी दिएको छ । दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत खेलिने छ ।
एएफसी एसियाली कप छनोटमा बाँकी खेलहरूअघि यी मैत्रीपूर्ण खेलहरू नेपालका लागि महत्त्वपूर्ण तयारीको रूपमा खेलिने एन्फाले जनाएको छ ।
एएफसी एसियाली कप छनोटमा नेपाल समूह ‘एफ’ मा मलेसिया, लाओस र भियतनामसँगै छ । नेपालले अहिलेसम्म समूह चरणमा दुई खेल खेलेको छ तर दुवै खेलमा हार बेहोरेका कारण अङ्क जोड्न सकेको छैन ।
नेपालले अब जारी छनोटको भागको रूपमा अक्टोबर ९ मा घरबाहिर भियतनामसँग खेल्ने तालिका छ ।
FACEBOOK COMMENTS