काठमाडौँ । इजरायलमा ६६.२ प्रतिशत मतपेटिकाको गणना सकिँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धनले ५६ सिट पाउने प्रारम्भिक अनुमान सार्वजनिक भएको छ ।
टाइम्स अफ इजरायलका अनुसार केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार गादी आइजेनकोट नेतृत्वको यशार गठबन्धनले ४८ सिट पाउने देखिएको छ ।
नेतान्याहुको विरोधमा रहेका अरब राजनीतिक दलहरूले भने १६ सिट पाउने देखिएको छ । इजरायलको १२० सदस्यीय संसद्मा बहुमतका लागि ६१ सिट आवश्यक पर्छ । प्रारम्भिक नतिजाअनुसार कुनै पनि पक्षले स्पष्ट बहुमत हासिल गरेको छैन ।
यसैबीच, केही दलले संसद्मा प्रतिनिधित्वका लागि आवश्यक ३.२५ प्रतिशत मतको सीमा पार गर्न सकेका छैनन् । रिजर्भिस्ट्सले २.७ प्रतिशत, पिपुल अफ इजरायलले १.६ प्रतिशत र चारेदी पब्लिकले ०.२ प्रतिशत मत पाएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको नतिजा प्रारम्भिक रहेकाले मतगणना जारी रहँदा सिट सङ्ख्यामा परिवर्तन हुन सक्ने जनाएको छ । सैनिकसहित दोहोरो खाममा खसालिएका मतको गणना पछि गरिने भएकाले अन्तिम नतिजा आउन अझै समय लाग्ने बताइएको छ ।
