काठमाडौं । इजरायलको पेट्रोल पम्पमा भएको गोली प्रहारमा एक इजरायली नागरिकको मृत्यु भएको छ ।
इजरायलको कोचाव याइरस्थित पेट्रोल पम्पआमा भएको गोलीबारीको घटनामा चार जना घाइते भएका छन् । स्वास्थ्य अधिकारीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
पुलिसले आक्रमणमा संलग्न एक सशस्त्र संदिग्धलाई नियन्त्रणमा लिएर निष्क्रिय पारिएको जनाएको छ भने अन्य सम्भावित आक्रमणकारीको खोजी जारी रहेको बताएको छ ।
यो गोलीकाण्डपछि इजरायली सेनाप्रमुख एयाल जमीरले वरिष्ठ अधिकारीसँग फोनमार्फत सुरक्षा अवस्थाको समीक्षा गरेका थिए । उनले कब्जामा रहेको पश्चिमी किनारामा सैन्य कारबाही जारी राख्न निर्देशन पनि दिएका छन् ।
सेनाका अनुसार एयाल जमीर त्यतिबेला गाजाको भ्रमणमा थिए । त्यहीँबाट उनलाई घटनाबारे प्रारम्भिक जानकारी दिइएको थियो, त्यसपछि उनले सुरक्षा अधिकारीसँग बैठक गरेका थिए ।

उता प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि सुरक्षा निकायसँग घटनाबारे समीक्षा गर्दै आफू निरन्तर परिस्थितिमा नजर राखिरहेको बताएका छन् ।

यसैबीच, हमासले घटनाबारे प्रतिक्रिया दिँदै यसलाई गाजा र पश्चिमी किनारामा चलिरहेको इजरायली सैन्य कारबाहीसँग जोडिएको बताएको छ । उसले गाजा, पश्चिमी किनारा र यरुशलेममा जारी सैन्य छापा र कारबाहीका कारण तनाव थप बढेको दाबी गरेको छ ।

हमासले अन्तर्राष्ट्रिय समुदायलाई क्षेत्रमा हिंसा कम गर्न र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गरेको छ ।