काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो २०२६’ को अवसरमा एनआईसी एशिया बैंकले ल्याएको विशेष अटो लोन योजना ग्राहकहरूमाझ निकै लोकप्रिय बनेको बैंकले जनाएको छ ।
बैंकले बदलिँदो वित्तीय प्राथमिकतालाई ध्यानमा राखी वार्षिक ५.९९ प्रतिशतको न्यून र स्थिर ब्याजदरमा ७ वर्षसम्मका लागि ‘एन आई सी एशिया अटो लोन’ उपलब्ध गराएपछि यस योजनाप्रति ग्राहकहरूको उल्लेख्य आकर्षण देखिएको हो । भाद्र ९ देखि १४ गतेसम्म सञ्चालन हुने यस मेलाको पहिलो दिनदेखि नै कर्जा लिन चाहने ग्राहकहरूको भीड बढेको बैंकले जनाएको छ ।
७ वर्षसम्म ब्याजदर परिवर्तन नहुने सुनिश्चितताले ग्राहकहरूलाई आफ्नो दीर्घकालीन वित्तीय योजना र मासिक किस्ता सहज रूपमा व्यवस्थापन गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
सवारी साधन खरिद प्रक्रियालाई अझ सहज र प्रविधिमैत्री बनाउन बैंकले मेलास्थलमै विशेष डिजिटल सुविधा उपलब्ध गराएको छ । ग्राहकहरूले बैंकको स्टलमा रहेको क्युआर कोड स्क्यान गरी आफ्नो आवश्यक विवरण भरेर तुरुन्तै कर्जाको योग्यता परीक्षण गर्न र तत्कालै कर्जा स्वीकृतिपत्र प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
यसरी प्रारम्भिक स्वीकृति प्राप्त गरिसकेपछि ग्राहकले आफ्नो पायक पर्ने बैंकको कुनै पनि शाखा कार्यालयमा आवश्यक कागजात बुझाएर बाँकी प्रक्रिया पूरा गर्न सक्नेछन् । यो डिजिटल सुविधाले सवारी साधनको छनौटदेखि कर्जा प्रक्रियासम्मको काम एउटै थलोबाट छिटो र छरितो रूपमा सम्पन्न गर्न सहयोग पुर्याएको छ ।

बैंकले निजी, व्यावसायिक तथा विद्युतीय सबै प्रकारका सवारी साधनका लागि यो कर्जा सुविधा उपलब्ध गराएको छ । व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने कालो नम्बर प्लेटका सवारी साधनको हकमा भने कर्जाको अवधि ५ वर्ष तोकिएको छ भने अन्य सवारीका लागि ७ वर्ष कायम गरिएको छ ।
यो योजनाले नाडा अटो सोमा सवारी साधन खरिद गर्ने निर्णय गर्न ग्राहकहरूलाई थप सहज बनाएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र बहादुर रावलले जानकारी दिएका छन् ।
इच्छुक ग्राहकले भृकुटीमण्डपस्थित मेलाको स्टल नं. ई२४ मा उपस्थित भई वा बैंकको देशभर रहेका कुनै पनि शाखा कार्यालयबाट यस योजनाबारे थप जानकारी लिन र कर्जा सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।