काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रतिनिधि सभाबाट पारित भएको छ ।
आज आइतबार बसेको प्रतिनिधि सभा बैठकले बहुचर्चित कुलिङ अफ द पिरियडको व्यवस्थासहित विधेयक पारित गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको निरन्तरको पहल र दृढ इच्छाशक्तिको परिणामस्वरूप उक्त विधेयक प्रतिनिधि सभाबाट पारित हुन सम्भव भएको हो ।
यो विधेयक ऐनमा रुपान्तरित भएसँगै प्रशासनिक सङ्घीयता कार्यान्वयन गर्न सहज हुने सङ्घी मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बताए ।
प्रतिनिधि सभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुन: प्रतिनिधि सभामा आउँछ ।
त्यसपछि सभामुख हुँदै राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनक रूपमा कार्यान्वयनमा आउने छ ।
राज्यको पुनर्संरचनासँगै प्रशासनिक पुनर्संरचना गर्न र सङ्घीयताको प्रभावकारी कार्यान्वयनका निम्ति आवश्यक यो विधेयक विगत नौ वर्षदेखि रोकिएर बसेको थियो । मन्त्री गुप्ताले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै निजामती सेवा विधेयकलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको थियो ।
१३ परिच्छेद १४७ वटा दफा रहेको यो विधेयकउपर १२४ दर्ता समूहबाट १३० जना सांसदले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । उक्त प्रस्तावमाथि राज्य व्यवस्था तथा सुशासन समितिले उपसमितिसमेत बनाएर व्यापक छलफल गरेको थियो । त्यसक्रममा प्रशासन विज्ञ, लोकसेवा आयोगलगायत विभिन्न संवैधानिक आयोगहरू, निजामती कर्मचारी ट्रेड युनियन, प्रशासनिक क्षेत्रमा योगदान पुर्याउने व्यक्ति–व्यक्तित्वहरू, पूर्वप्रशासकहरू, कानुनविद्, राष्ट्रसेवक कर्मचारीहरू तथा प्रदेश सरकार र विभिन्न सरोकारवाला पक्षहरूसँग व्यापक छलफल गरी सुझाव ग्रहण गरिएको थियो ।
छलफलपछि गत जेठ २ गते बसेको समितिको ७३औँ बैठकले सर्वसम्मतरूपमा विधेयक पारित गरेको थियो । यो विधेयक जेठ १३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेस गर्ने तयारी गरिए पनि नेकपा माओवादी केन्द्रलगायत प्रतिपक्ष दलहरूले संसद अवरोध गरेका कारण अगाडि बढ्न पाएको थिएन ।
लामो कसरतपछि नयाँ आयामसहित सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा पेस गर्न आफू नेतृत्वको मन्त्रालय र वर्तमान सरकारसमेत सफल भएको मन्त्री गुप्ताले बताउनुभयो ।
सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस
FACEBOOK COMMENTS