काठमाडौं । आज निजामती सेवा दिवस परेको छ । नेपालमा निजामती सेवा गठन भएको लामो समयपछि विस २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।
विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् ।
यस बर्ष भने सरकारले २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ ।
निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार रसुवागढीस्थित नेपाल–चीन सीमाक्षेत्रमा आएको भीषण बाढीबाट उत्पन्न विपद्का कारण मुलुक शोकको अवस्थामा रहेको तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरू खोज, उद्धार तथा राहत कार्यमा खटिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम रद्द गरिएको हो ।

सरकारले भदौ २२ गते मनाउन लागिएको २३औँ निजामती सेवा दिवसका लागि विनियोजित बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ ।