काठमाडौँ । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा मुसलधारे वर्षाका कारण आएको बाढीमा १६ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले मनसुनी वर्षापछि नदीहरूमा भिषण बाढी आएको जानकारी दिदै अहिलेसम्म १६ जनाको शव फेला परेको बताएको हो ।
सुलावेसीको उत्तरी छेउबाट लगभग १३० किलोमिटर टाढा अवस्थित सियाउ टापुका चारवटा प्रभावित गाउँहरूमा प्रहरी र सेनाको सहयोगमा आपतकालीन उद्धार भइरहेको एजेन्सीले बताएको छ ।
बाढीका कारण ६८० भन्दा बढी मानिसहरूले चर्च र सार्वजनिक भवनहरूमा स्थापित अस्थायी राहत शिविरहरूमा आश्रय लिनु परेको छ ।
मौसममा सुधार आएपछि र बाढीको पानी कम भएपछि उद्धारकर्मीहरूले मंगलबार १६ जनाको शव निकालेका छन् । अन्य तीन जना बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको बताइएको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार, डिसेम्बरमा इन्डोनेसियाको सबैभन्दा ठूलो टापु सुमात्रामा आएको गम्भीर बाढी र पहिरोले ५२ शहर र जिल्लाहरूलाई असर गरेको थियो । डिसेम्बरमा बाढी पहिरोबाट ११७८ जनाको मृत्यु भएको र ७,हजारभन्दा बढी मानिसहरू घाइते भएका थिए । त्यस्तै १४८ जना अझै बेपत्ता रहेका छन् ।
FACEBOOK COMMENTS