काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको चुक्ता पुँजीको शतप्रतिशत अर्थात १:१ को अनुपातमा कुल १,२८,४३,७२४ कित्ता साधारण शेयर साविक शेयरधनीहरूमा निष्कासन तथा बिक्री गर्न नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ ।
आइतबार आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारण सभाबाट पारित १:१ अनुपातको हकप्रद निष्कासनको व्यवस्थापन नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडबाट हुनेछ ।
२०६९ भदौ ३२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो उद्देश्यअनुरूप विभिन्न जलविद्युत, पर्यटन, होटेल, बीमा, सञ्चारलगायतका परियोजनाहरूमा लगानीसम्बन्धी काम/कारोबार गर्दै आइरहेको छ । यस कम्पनीका संस्थापक शेयरधनीहरू विद्युत, बैंक/वित्तीय क्षेत्र, शैक्षिक क्षेत्र एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरू छन् ।
नेपाल एसबीआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालनसम्बन्धी सेवा, संस्थागत परामर्शसम्बन्धी सेवा तथा शेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS