काठमाडौं । विश्वभर आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्ध दिवस मनाइँदैछ । सन् १९४५ जुलाई १६ मा पहिलो आणविक परीक्षण भएयता विश्वमा दुई हजारभन्दा बढी आणविक परीक्षण भइसकेका छन् ।
आणविक परीक्षणबाट मानव स्वास्थ्य, वातावरण र भावी पुस्तामा पर्ने गम्भीर असरबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अगस्ट २९ मा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २००९ मा अगस्ट २९ लाई आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको थियो ।
काजाखस्तानमा रहेको सेमिपालाटिन्स्क आणविक परीक्षणस्थल सन् १९९१ अगस्ट २९ मा बन्द गरिएको घटनाको स्मरणमा यो दिवस घोषणा गरिएको हो ।
आणविक परीक्षण अन्त्य गर्ने उद्देश्यले सन् १९९६ मा व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि पारित भए पनि यो अझै पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । संयुक्त राष्ट्र संघले आणविक परीक्षण अन्त्य गर्दै विश्वलाई आणविक हतियारमुक्त बनाउन अन्तर्राष्ट्रिय समुदायलाई निरन्तर प्रयास गर्न आह्वान गर्दै आएको छ ।