काठमाडौं । अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले राजीनामा दिएका छन् ।
उनले आज फेसबुकमा लेख्दै अनलाइन खबरबाट विदा भएको जानकारी दिएका हुन् ।
‘अनलाइन खबरको प्रधान सम्पादक पदबाट विदा लिएको छु । अध्यक्ष धर्मराज भुसाल, प्रबन्ध निर्देशक सुरेश भुसाल र सम्पादकीय सहकर्मीहरूमा आभार व्यक्त गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘प्रतिक्रिया र आलोचना मार्फत मलाई जवाफदेही बन्न प्रेरित गर्ने आदरणीय पाठकहरूलाई धन्यवाद !’
उनको राजीनामालगत्तै अनलाइन खबरले आजै सम्पादक बसन्त बस्नेतलाई प्रधान सम्पादक नियुक्ति गरेको छ । अनलाइनखबर नेपाल प्रालिको सञ्चालक समिति बैठकले बस्नेतलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको अनलाइन खबरले जनाएको छ । बस्नेत २०७९ देखि अनलाइनखबरमा सम्पादकको जिम्मेवारीमा रहँदै आएका थिए ।
योसँगै अनलाइन खबरले शिव गाउँलेको राजीनामा स्वीकृत गरी सम्मानपूर्वक विदाइ पनि गरेको जनाएको छ । उनी २०७७ सालमा प्रधान सम्पादक नियुक्त भएका थिए ।
अप्रत्याशित राजीनामा
बाहिरबाट हेर्दा गाउँलेको राजीनामा सहज देखिए पनि एउटा महत्त्वपूर्ण सन्दर्भलाई जोडेर हेर्दा उनको यो राजीनामाभित्र असहजता धेरै देखिन्छ । दुई दिनअगाडि (वैशाख २९ गते) अनलाइन खबरमा प्रकाशित ‘प्रधानमन्त्री सहभागी बुद्ध जयन्ती मूल समारोहमा धेरै कुर्सी खाली’ शीर्षकको समाचारको व्यापक खण्डन भएको थियो । जनस्तरबाटसमेत खण्डन भएपछि सो समाचार हटाइएको थियो ।
‘प्रधानमन्त्री सहभागी बुद्ध जयन्ती मूल समारोहमा धेरै कुर्सी खाली’ शीर्षककको सो समाचारमा कार्यक्रममा उपस्थिति अति न्यून रहेको, पाँच हजार क्षमताको हलमा खाली कुर्सी धेरै भएको, कम उपस्थितिले कार्यक्रम खल्लो भएकोलगायत विषय उल्लेख गरिएका थिए ।
तर, पछि उक्त समाचार हटाउँदै अनलाइन खबरले भनेको छ, ‘यसमा प्रकाशित सामग्रीमा समावेश वस्तुगत तथ्यहरूबारे पुनर्विचार गर्दै सम्बन्धित सामग्री क्षमायाचनासहित हटाइएको छ ।’ यसरी समाचार हटाइएपछि समाचार लेख्ने बुटवल सम्वाददाता टोपराज शर्मा, सम्पादकीय नेतृत्वमा रहेका शिव गाउँलेलगायतमा मानसिक असर सृजना भयो । त्यही असरका कारण गाउँले राजीनामाको निर्णयमा पुगेको बताइन्छ ।
FACEBOOK COMMENTS