काठमाडौं । पर्यटक आगमनमा लयमा फर्किए पनि खर्च बढाउने कार्य चुनौतीपूर्ण रहेको छ ।
पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले प्रचारप्रसारलाई विस्तार गर्न नसक्दा पर्यटकको खर्च र बसाई अवधि बढाउने कार्य चुनौतीको रूपमा रहेको हो ।
नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटक आगमन दर र दैनिक खर्चको विगतको तथ्याङ्क हेर्दा पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि पर्यटकले गर्ने दैनिक खर्च कम हुने गरेको बताएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको ‘नेपाल टुरिजम स्टाटिस्टिक्स्–२०२३’ ले प्रतिपर्यटकले औसतमा दैनिक गर्ने खर्च र बसाई अबधि केही बढेको उल्लेख गरेको छ । सन् २०२३ मा प्रति पर्यटकको औसत बसाई १३.२ दिन रहेको र प्रति पर्यटक प्रति दिन औसत खर्च ४१ अमेरिकन डलर पुगेको छ ।
सन् २०२२ मा पर्यटकको औसत बसाई अवधिमा केही कमी आएको थियो । त्यस अवधिमा पर्यटकको औसत बसाई १३.१ दिन रहेको र प्रति पर्यटक प्रति दिन औसत खर्च ४०.५ अमेरिकी डलर रहेको थियो । सन् २०२१ मा नेपाल भ्रमणमा आउने प्रति पर्यटकले औसतमा दैनिक ४८ डलर खर्च गर्ने गरेका थिए भने प्रति पर्यटक औसत बसाई अवधि १५.५ दिन थियो । सन् २०२० मा ६५ अमेरिकी डलर थियो भने औसत बसाई १५.१ दिन रहेको पनि टुरिजम स्टाटिस्टिक्सले जनाएको छ ।
सन् २०२१ मा कोभिड–१९ का कारण पर्यटक आगमन प्राय शुन्य जस्तै अवस्था रहेको थियो । उक्त समयमा क्वारिन्टनमा बस्नु पर्ने बाध्यकारी व्यवस्थाले खर्च र बसाई अबधि बढे पनि सन् २०२२ मा भने घटेको तथ्याङ्कले देखाएको छ ।
कोभिड–१९ महामारीको कारण सन् २०२० मा पर्यटक आगमनमा अघिल्लो वर्षको तुलनामा करिब ८० प्रतिशतले कमी आए पनि पर्यटको प्रति दिन प्रति पर्यटक औसत खर्च र बसाई अबधि केही लम्बिएको थियो ।
सन् २०२२ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट ४६ अर्ब ७६ करोड रूपैयाँ विदेशी मुद्रा आर्जन भएकोमा सन् २०२१ मा विदेशी पर्यटकबाट १३ अर्व ५० करोड ११ लाख रूपैयाँ विदेशी मुद्रा आर्जन भएको थियो । कोभिड –१९ महामारीका कारण सन् २०२० र सन् २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रमशः २ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । सन् २०२२ मा भने पर्यटक आगमनमा केही वृद्धि भई ६ लाख १४ हजार ८ सय ६९ पुगेको थियो ।
सन् २०१९मा औसत प्रति पर्यटक प्रति दिन खर्च ४८ र बसाई अबधि १२.७ दिन थियो । विगत वर्षमा पर्यटक आगमन वार्षिक वृद्धि भएपनि पर्यटकको दैनिक खर्च र बसाई अवधि कम थियो । सन् २०१८ मा नेपाल भ्रमण गर्ने पर्यटकको वार्षिक सङ्ख्यामा वृद्धि भएको देखिए पनि पर्यटकले नेपालमा रहँदा गर्ने दैनिक खर्च भने घटेको तथ्याङ्कले देखाएको छ ।
नेपाल टुरिज्म स्टाटिस्टिक्स्–२०१८ का अनुसार सन् २०१७ मा एक पर्यटकले ५४ अमेरीकन डलर खर्च गर्ने गरेकोमा त्यो रकम घटेर सन् २०१८ मा ४४ अमेरिकन डलरमा सीमित भएको थियो । यता पर्यटक भने हालसम्मकै धेरै करिब १२ लाखले नेपाल भ्रमण गरेका थिए । भूकम्प र नाकाबन्दीका वर्षमा पर्यटक आउने क्रम घटे पनि विगत १० वर्षमा पर्यटन आगमनमा वृद्धि भएको तथ्याङ्कले देखाएको थियो । पर्यटकमार्फत हुने दैनिक खर्च बढाउन नसक्नुमा पर्यटकका लागि उपयुक्त गन्तव्यको विकास हुन नसक्नुलाई लिइएको छ ।
कोभिड–१९का कारण सरकाले जारी गरेको क्वारिन्टन पोलीसिले पनि सन् २०२० मा पर्यटकको खर्च र बसाई अबधि लम्बिएको भए पनि पछिल्लो समय पर्यटकले गर्ने खर्च र बसाईमा कमी आएको छ । सन २०२०, सन् २०२१ मा कोभिड महामारीको समय भएकाले होटेल क्वारेन्टिनमा २ हप्तासम्म बस्नु पर्ने व्यवस्थाले पर्यटक बढेका थिए । तर, अहिले पर्यटकको सङ्ख्यामा बृद्धि र खर्चमा पनि वृद्धि गर्ने कार्य भने चुनैतीपूर्ण रहेको देखिन्छ । सन २०२३ मा १० लाख बढि पर्यटक आगमन हुँदा ४१ डलर मात्र प्रति पर्यटक खर्च हुनु भनेको चिन्ताजनक विषय हो । नेपालको प्रचारप्रसारमा कमी र गुणस्तरीय पर्यटक आगमन कम हुँदा खर्च बढाउन सकिएको छैन् ।
त्यसैगरी नेपालको हवाई भाडा महँगो भएकाले गर्दा पनि अन्य पर्यटकीय गन्तव्यमा खर्च कम हुने गरेको छ । योसँगै डिजिटल भुक्तानीका विभिन्न माध्यम प्रयोगमा आएको कारण पर्यटकले गरेको खर्च तथ्याङ्कमा समावेश गर्न केही कठिन भएको छ ।
सन् २०१६ मा नेपाल आएका विदेशी पर्यटकले १३.४ दिन बस्ने गरेका थिए भने दैनिक ५३ अमेरिकी डलर औषत खर्च गर्ने गरेको तथ्याङ्कले देखाएको छ । २०१७ मा आइपुग्दा बसाई अवधि घटेर १२.६ दिन सीमित भयो । त्यसैगरी सन् २०१८ मा ४४ अमेरिकी डलर दैनिक खर्चगर्ने गरेको तथ्याङ्कले देखाएको छ । औसतमा हेर्दा १२.४ दिनमात्र पर्यटक नेपाल बसेको देखिन्छ । पर्यटकको सङ्ख्या वृद्धिसँगै पर्यटन क्षेत्रबाट आम्दानी भने बढेर गएको छ । सन् २०१७ मा ६५ करोड ८० लाख, सन् २०१८ मा ७० करोड ३१ लाख, सन् २०१९ मा ७२ करोड ४३ लाख, सन् २०२०मा कोभिड महामरीका कारण २१ करोड ७० लाख अमेरिकन डलरमा सिमित रहेको थियो ।
सन् २००८ मा प्रति पर्यटक ७३ अमेरिकी डलर दैनिक आम्दानी भएकोमा त्यसपछिका वर्षहरूमा यस्तो आम्दानी घट्दै गएर सन् २०१२ मा यो तथ्याङ्क अनुसार ३५.६ डलरमा सीमित भएको थियो । सन् २००९ देखि १२ सम्म नेपाल आउने पर्यटक क्रमशः २, १८, २२ र ९ प्रतिशतले बढेको देखिन्छ । उक्त अवधिमा प्रति पर्यटक दैनिक आम्दानी ७३ डलरबाट ६५, ४३, ३८ हुँदै सन् २०१२ मा ३५ डलरमा सीमित भएको थियो ।
मन्त्रालय तथा बोर्डले स्रोत बजारमा प्रचारप्रसारमा जोड नदिएको कारण पछिल्लो समय पर्यटकको बसाइ र दैनिक खर्चमा कमी आएको पर्यटन व्यवसायीहरूले बताएका छन् । यूरोप तथा अन्य पर्यटकीय स्रोत बजारमा सिधा उडान नहुँदा हवाई भाडा महँगो हुँदै आएको छ । यही अवस्था सरकारले टिकट मूल्यमा कर लगाउदा थप महँगो हुँदा पर्यटकले गन्तव्यमा गर्न खर्च कम भएको आँकलन गरिएको छ । भारतीय पर्यटकलाई २५ हजारभन्दा बढी नगद ल्यान नदिनु तथा सरकारले पर्यटन उद्योगको नीतिगत सहजता र ल्याएका कार्यक्रम कार्यान्वयन नगर्दा पर्यटनबाट हुने खर्च बढाउने कार्य चुनौतीपूर्ण बनेको हो ।
FACEBOOK COMMENTS