पशुपतिनाथमा रातभर धनुर्मास पूजा
कर्पोरट खबर
9:10 pm, शुक्रबार, पुस ११, २०८२
फाइल तस्बिर ।
काठमाडौ । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा बिहीबार रातभर विधिपूर्वक गरिएको छ ।
धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण सहभागी हुने विधि छ । पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धूप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ । धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट खिचडी भोग दिइएको द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए ।
उनका अनुसार पशुपतिनाथमा महाभोगका लागि ब्राह्मणले दुई वटा खँडकुलामा खिचडी बनाउँछन् । एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको खिचडी बनाउने गरिन्छ । अरु बेलामा पशुपतिनाथमा लगाइने भोगमा नुनिलो सामग्री हुन्छ । आज गुलियो र चिल्लो सामग्री चढाउने विधि रहेको पशुपति क्षेत्रका मूर्त अमूर्त संस्कृतिबारे खोज गरिरहेका कर्मचारी बरुण खतिवडाले जानकारी दिए । पुस महिनाभर सूर्यनारायण धनु राशिमा हुने भएकाले प्रत्येक वर्ष पुस महिनामा बढी भीडभाड नहुने दिनको साइत जुराएर धनुर्मास पूजा आराधना गर्ने परम्परा रहेको उनले सुनाए ।
जानकारहरूका अनुसार चान्द्रमास र सौरमास दुवै पुस महिनामा पारेर धनुर्मास पूजाको साइत निकालिन्छ । पहिले पुस महिनामा नौपटकसम्म धनुर्मास पूजा गर्ने गरिएकामा त्यो परम्परा हाल लोप भइसकेको छ । त्यसबेला भक्तजनले आफ्नो खर्चमा पनि धनुर्मास पूजा गर्न पाउने परम्परा रहेको थियो । धनुर्मास पूजा गर्नुअघि बिहीबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराउने प्रचलन छ ।
FACEBOOK COMMENTS