काठमाडौं । विद्युत् महशुल बक्यौदा रहेको भन्दै चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल विद्युत् प्राधिकरणले बुधबारदेखि विद्युत् आपूर्ति बन्द गरेको छ ।
रङ्गशालाले तिर्नुपर्ने विद्युत् महशुल ८ लाख ८७ हजार रूपैयाँ नाघेको भन्दै प्राधिकरणको भरतपुर वितरण केन्द्रले बुधबार विद्युत् आपूर्ति बन्द गरेको हो । रङ्गशाला निर्माणको नेतृत्व गरिरहेको धुर्मुश–सुन्तली फाउण्डेशनले चार महिनादेखि विद्युत् महशुल नतिरेपछि विद्युत् आपूर्ति बन्द गरिएको वितरण केन्द्रका इन्जिनीयर राजेन्द्र पौडेलले जानकारी दिएका छन् ।
चार महिनादेखि विद्युत् महशुल नतिरेको भन्दै निर्माणाधीन रङ्गशालाको विद्युत् आपूर्ति ठप्प पार्ने विद्युत् प्राधिकरणले पाँच वर्ष भन्दा धेरै समयदेखिको बक्यौदा महशुल नतिर्ने अर्घाखाँची सिमेन्ट उद्योगलगायतको भने विद्युत् आपूर्तिलाई निर्वाध सुचारु राखिरहेको छ ।
करिब ६ वर्षको अवधिमा अर्घाखाँची सिमेन्टले १ अर्ब ११ करोड रूपैयाँ भन्दा बढी विद्युत् महशुल तिर्न बाँकी छ । चरम लोडसेडिङको समयमा समेत २४ घण्टा नै विद्युत् उपभोग गरेको यो उद्योगले अहिलेसम्म पनि विद्युत् महशुल नतिर्दा प्राधिकरणले लाइन काटेको छैन ।
अर्घाखाँची सिमेन्ट उद्योग नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्ष समेत रहिसकेका पशुपति मुरारकाको हो ।
सर्वसाधारणले विद्युत् महशुल ६० दिनभित्र नबुझाए विद्युत् प्राधिकरणले बिजुलीको लाइन नै काटिदिने गरेको छ, तर ती उद्योगलाई भने प्राधिकरणले चेतावनी मात्रै दिँदै आएको छ । जुन चेतावनीप्रति उद्योगीहरूले टेरपुछर लगाएका छैनन् । बरु महशुल छूट गरिदिन भन्दै एफएनसीसीआईका नेतृत्वसहितका टोलीले सरकारसँग बारम्बार लविङ गरिरहेका छन् ।
विद्युत् प्राधिकरण भैरहवाका अनुसार रूपन्देहीमा विभिन्न उद्योगहरूले विद्युत् महशुलवापतको अर्बौं रूपैयाँ तिर्न बाँकी छ । अर्घाखाँची सिमेन्ट उद्योगबाहेक लामो समयदेखि विद्युत् महशुल बक्यौदा राख्ने थुप्रै कम्पनी तथा उद्योगहरू छन् ।
प्राप्त जानकारी अनुसार जगदम्बा सिन्थेटिक्सले ४२ करोड ९८ लाख ८६ हजार रूपैयाँ, पञ्चकन्या स्टिल प्रालिको ९ करोड ९७ लाख ४७ हजार ३९९ रूपैयाँ, सिद्धार्थ पेट प्लास्टरले ४ करोड ३५ लाख रूपैयाँ, विशाल सिमेन्ट उद्योगले ४ करोड २८ लाख रूपैयाँ बक्यौता तिर्न बाँकी छ ।
यसैगरी घराना फुड्सको ४ करोड १८ लाख ६ हजार २०१ रूपैयाँ, एभरेष्ट रोलिङको तीन करोड ५९ लाख रूपैयाँ र एसआर फुड्स प्रालिको ३ करोड १० लाख २१ हजार रूपैयाँ बक्यौता छ । यसैगरी गोयन्का फुड्सको २ करोड ७७ लाख ६९ हजार रूपैयाँ, यशोदा फुड्स प्रालिको २ करोड ५२ लाख तीन हजार रूपैयाँ, सोना प्याकेजिङको १ करोड ७० लाख रूपैयाँ, सोना पोलिमर्सको १ करोड ६२ लाख रूपैयाँ, फेरो स्टिल प्रालिको १ करोड ६ लाख रूपैयाँ बक्यौता तिर्न बाँकी छ ।
यसैगरी शुभलक्ष्मी पोलिमर्सको ६८ लाख ३५ हजार रूपैयाँ, नव नेपाल प्लाष्टिकको ७५ लाख २४ हजार रूपैयाँ विद्युत् महशुल बक्यौता बाँकी छ । त्यस्तै श्याम प्लाष्टिकको ८५ लाख ९ हजार रूपैयाँ, भलवारी स्वचालित चामल कारखानाको ५६ लाख ८६ हजार रूपैयाँ, एजी हेल्थ उद्योगको ४७ लाख १२ हजार रूपैयाँ, नेशनल रबर इन्डस्ट्रिजको १३ लाख ४१ हजार रूपैयाँ, जिबी टेक्सटाइलको दुई उद्योगका गरी ३८ लाख ९२ हजार रूपैयाँ, नारायण रबर उद्योगको सात लाख ६७ हजार ५४७ रूपैयाँ र प्रिया प्याकेजिङको ६ लाख ८५ हजार ५२२ रूपैयाँ बाँकी बक्यौता रहेको छ ।
लामो समयदेखि बक्यौता रकम तिर्न बाँकी अधिकांश उद्योगहरू मुराका समूहकै छन् । महशुल बक्यौदा रहेका अधिकांश उद्योगका सञ्चालकहरू एफएनसीसीआईलगायत कुनै न कुनै संघ–संस्था तथा सक्रिय राजनीतिमा समेत सक्रिय रहेका कारण विद्युत् लाइन कटौतीमा समस्या भइरहेको विद्युत् प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले विद्युत् लाइन कटौतीको प्रक्रिया अगाडि बढाउँदा ती उद्योगीहरूको प्रभाव पर्ने गरेको प्राधिकरणले जनाएको छ । पछिल्लो समय प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङको पुनरागमन भए पनि उद्योगहरूबाट महशुल उठाउन सकिरहेका छैनन् ।
मुरारकाको सिमेन्ट कम्पनीले तिर्न बाँकी विद्युत् महसुलका लागि एफएनसीसीआईको रुवावासी !
FACEBOOK COMMENTS