काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने अवस्था नरहेको स्पष्ट पारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारसँग जोडिएको हुँदा घटाउन नसकिने बताएका हुन्।
मंगलबार संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले भारतीय आयल निगमले निर्धारण गर्ने मूल्यअनुसार नेपालमा इन्धन बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए। “हामीले आईओसीबाट आएको मूल्यकै आधारमा बिक्री गर्नुपर्छ, त्यसैले मूल्य घटाउने अवस्था छैन,” उनले भने।
उनका अनुसार हाल पनि सरकारले खाना पकाउने ग्यास, पेट्रोललगायत इन्धनमा घाटा व्यहोर्दै आपूर्ति गरिरहेको छ। स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू गरिएमा उपभोक्ताले अझ महँगो मूल्य तिर्नुपर्ने अवस्था आउने उनले स्पष्ट पारे।
सचिव राउतले उपभोक्तालाई थप भार नपरोस् भन्ने उद्देश्यले सरकारले पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू नगरेको जानकारी दिए। तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भइरहँदा आन्तरिक बजारमा पनि त्यसको प्रभाव पर्ने भएकाले मूल्य समायोजन अपरिहार्य बनेको उनको भनाइ छ।
इन्धनको मूल्यवृद्धिका कारण यातायात, निर्माण र दैनिक उपभोग्य वस्तुमा लागत बढ्दै जाँदा उपभोक्तामा असन्तुष्टि बढिरहेको छ। यद्यपि, सरकारले आपूर्ति प्रणाली निरन्तरता र बजार सन्तुलन कायम राख्न प्राथमिकता दिएको जनाएको छ।
