काठमाडौं । भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सोमबार केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफल गर्दै जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचारविरुद्धको कारबाही भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएकी छन् । छलफलपछि उनले केन्द्रलाई चारबुँदे निर्देशन दिएकी छन् ।
प्रधानमन्त्री कार्कीले पहिलो सार्वजनिक निकायहरुबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रको भूमिका थप प्रभावकारी बनाउनुपर्छ र भ्रष्टाचारपछिको दण्डात्मक उपायभन्दा भ्रष्टाचार हुनै नदिने वातावरण सिर्जना गर्न निर्देशन दिएका छन् ।
त्यस्तै दोस्रोमा सार्वजनिक निकायहरुबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमनलाई बढावा दिनुपर्छ। केन्द्रका निर्देशन पालना भए–नभएको पनि अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन छ ।
त्यसैगरी विकास–निर्माणका योजनाहरुमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने तथा प्राविधिक परीक्षणको जिम्मेवारीमा सतर्कता केन्द्रको ध्यान पुगेन। यसको लागि जनशक्ति र वित्तीय स्रोतको समेत प्रबन्ध गर्न प्रधानमन्त्री कार्कीले केन्द्रलाई तेस्रो निर्देशन दिएकी छन् ।

त्यस्तै आम नागरिकलाई अनुभूति हुने गरी संस्थाको उपस्थिति र प्रभावकारिता देखाउन उनले निर्देशन दिएकी छन् ।

FACEBOOK COMMENTS