पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा १४ जना घाइते भएका छन् ।
कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो । बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएको थियो। उपचारका क्रममा चार बालबालिका र एक वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा करिब १२–१३ वर्षीया ममता तिवारी, १३–१४ वर्षीय अशिम कँडेल, नामथर नखुलेका दुई बालिका र पोखरा महानगरपालिका–२८ का ६५ वर्षीय बाबुराम तिवारी रहेका छन्। तिवारी उपचारका लागि बसमा लिफ्ट मागेर सवार भएको जनाइएको छ । मृतकमध्ये ममता तिवारी, अशिम कँडेल र बाबुराम तिवारीलाई बिहान ८: ३५ बजे तथा नामथर नखुलेका दुई बालिकालाई बिहान ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा महानगरपालिका–२८ सौर्यका १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय शिसन थापा मगर र डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिनाको अवस्था मध्यम रहेको छ। उनीहरू कक्षा १० मा अध्ययनरत छन् । गण्डकी अस्पतालमा उपचाररत १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ। त्यस्तै, १४ वर्षीया स्नेहा गौतम, १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अंकित पराजुली, मादी गाउँपालिका–१२ की १५ वर्षीया स्मृति खत्री, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य र १६ वर्षीय यमन मगर घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ ।

बस चालक पोखरा महानगरपालिका–१५ का ५७ वर्षीय तुलबहादुर गुरुङ पनि घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको छ ।

दुर्घटनापछि उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही सामान्य घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।