काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ ।
आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्बजनिक गरेकी हुन् ।
महानगरले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममार्फत सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र स्थानीय विकासलाई प्राथमिकतामा राखेको छ ।
डंगोलले नीति तथा कार्यक्रम सार्बजनिक गर्दै महानगरमा ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै पुगेर नि:शुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्ने घोषणा गरेकी छन् । साथै ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने समेत घोषणा गरेकी छन् ।
महानगरले हाल सञ्चालनमा रहेको ‘एक वडा, एक नमुना कार्यक्रम’लाई थप प्रभावकारी र दिगो बनाउने लक्ष्यसहित संस्थागत गर्ने र यस कार्यक्रममार्फत प्रत्येक वडाको आवश्यकता र विशेषता अनुसार नमुना योजना कार्यान्वयन गरिने घोषणा नीति तथा कार्यक्रममार्फत घोषणा गरिएको छ ।

त्यस्तै आगामी आर्थिक वर्षमा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने उल्लेख गरिएको छ ।

साथै ‘प्रदूषकले तिर्ने’ सिद्धान्तअनुसार फोहोरमैला व्यवस्थापन सेवा शुल्क संकलनको व्यवस्था गरिने उल्लेख गर्दै डंगोलले बन्चरेडाँडा म्पिङ साइटमा फोहोर विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोरको परिमाण र प्रकृतिका आधारमा द्वितीय साझेदारीको व्यवस्था गर्न पहल गरिने उल्लेख गरेकी छन् ।

त्यस्तै महानगरले फोहोरमैला व्यवस्थापनसम्बन्धी सूचना तथा विवरणलाई अनलाइन एपमार्फत उपलब्ध गराउने र यसबाट महानगरपालिका, सम्बन्धित कार्यालय, सेवा प्रदायक तथा सेवाग्राहीबीच आवश्यक जानकारी सहज रूपमा आदानप्रदान हुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरी नीति तथा कार्यक्रममा वायु, जल, जमिन, ध्वनि तथा दृश्य प्रदूषण नियन्त्रणका लागि उपयुक्त प्रविधिको प्रयोग गरिने उल्लेख गरिएको छ भने वातावरण संरक्षण, प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका कार्यक्रम संघ, प्रदेश, स्थानीय सरोकारवाला निकाय तथा विज्ञहरूसँगको समन्वय, सहकार्य र साझेदारीमा सञ्चालन गरिने बताइएको छ ।
काठमाडौं महानगरपालिकाले आरोग्य जीवनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानमार्फत शारीरिक, मानसिक, आत्मिक स्वस्थ जीवनशैली पद्धति प्रवर्द्धन गर्ने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको छ । ‘नि:शुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रभित्रका साँघुरा सडक र बढ्दो सवारीचाप मध्यनजर गर्दै बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने छ,’ नीति तथा कार्यक्रममा छ ।
महानगरवासीको मिर्गौला रोगको उपचारका लागि डायलासिस सेवा सहजीकरण गर्ने घोषणा गरिएको छ । मातृशिशु तथा प्रजनन स्वास्थ्य सेवासम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिने समेत घोषणा गरिएको छ ।
सार्वजनिक स्थानमा ‘स्तनपान र हेरचाह ब्लकहरू’ सेवा व्यवस्थापन गरिने भएको छ । महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्था नियमन तथा अनुगमन गरी गुणस्तरीय सेवा प्रवाहका लागि प्रोत्साहन गरिने छ । साथै, विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत नि:शुल्क उपचार गर्ने व्यवस्था कडाइसाथ लागु गरिने समेत उल्लेख छ ।
महानगरवासीलाई गुणस्तरीय र विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्न महानगर अस्पताल निर्माण गर्ने, परिवर्तित जीवनशैलीका कारण तीव्र रूपमा उत्पन्न मानसिक स्वास्थ्य समस्या न्यूनीकरण गर्न मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालनमा ल्याउने, ज्येष्ठ नागरिकका लागि निमोनिया खोप, महानगरवासीको स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थासँगको सहकार्यमा नियमित सेवा र आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गर्ने विषय समेत महानगरपालिकाको प्राथमिकतामा परेको छ ।
काठमाडौं महानगरपालिकाले युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने