काठमाडौं । काठमाडौं महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४को नीति तथा कार्यक्रममा फोहोरमैला व्यवस्थापनलाई उच्च प्रथामिकतामा राखेको छ ।
आइतबार सार्वजनिक गरिएको काठमाडौं महानगरपालिका आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा महानगर क्षेत्रलाई ७ क्लस्टरमा विभाजन गरी प्रविधि प्रयोगमार्फत फोहोरमैलाको उचित व्यवस्थापन गर्ने उल्लेख छ ।
नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फोहरलाई नि:शुल्क, स:शुल्क , न्यूनीकरण, सृजनात्मक पुन:चक्रीयलगायत प्रयोगमा आधारित बनाई सोको प्रवद्र्धन हुनेगरी महानगर क्षेत्रलाई सात समूहमा विभाजन गरी प्रविधिको प्रयोगमार्फत फोहोरमैलाको उचित व्यवस्थापन गरिने बताइन् ।
’महानगरले आगामी आवको नीति तथा कार्यक्रममा १०१ बुँदालाई समावेश गरेको छ’, उनले भनिन्, ’फोहर स्थानान्तरण केन्द्रबाट निस्कने न्यून फोहरलाई बञ्चरेडाँडा ल्याडफिल साइडमा मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी (यान्त्रीकृत फोहर व्यवस्थापन तथा पुन:प्राप्ति केन्द्र) सञ्चालन गरी वैज्ञानिक तरिकाले व्यवस्थापन गरिनेछ ।’
कार्यवाहक प्रमुख डंगोलले फोहरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदूषकले तिर्ने सिद्धान्त अनुरुप एकद्वारा प्रणालीमार्फत शुल्क संकलन गर्ने व्यवस्था नीति तथा कार्यक्रममा समावेश गरिएको बताइन् ।

