काठमाडौं । नेपालको पहिलो निजी समाचार टेलिभिजन सगरमाथा टेलिभिजनले आफ्नो १९औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा राजनीतिक विश्लेषक तथा समाजसेवी प्रकाश रायमाझीलाई सम्मान गरेको छ।
शनिबार काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै रायमाझीलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि, प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले उहाँलाई सम्मानपत्र प्रदान गरेका हुन ।
सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनीति, सञ्चार, शिक्षा, सामाजिक तथा सांस्कृतिक क्षेत्रका विशिष्ट व्यक्तित्व, बुद्धिजीवी, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले निजी क्षेत्रबाट समाचार प्रसारणको अनुमति प्राप्त गर्ने नेपालको पहिलो समाचार टेलिभिजनका रूपमा सगरमाथा टेलिभिजनले नेपाली सञ्चार क्षेत्रमा ऐतिहासिक योगदान पुर्याएको उल्लेख गरे। सत्य–तथ्यमा आधारित खोजमूलक पत्रकारितालाई प्राथमिकतामा राख्दै टेलिभिजनले लोकतन्त्रको सुदृढीकरण, नागरिकको सूचनाको अधिकारको संरक्षण तथा समाजका विविध आवाजलाई उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनीहरूको भनाइ थियो।
वक्ताहरूले टेलिभिजनले मनोरञ्जनका माध्यमबाट नेपालका विविध भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवद्र्धनमा समेत उल्लेखनीय योगदान पुर्याएको बताए। चुनौतीपूर्ण र विषम परिस्थितिमा पनि निष्पक्ष, सन्तुलित र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिँदै आएको भन्दै उनीहरूले सगरमाथा टेलिभिजनको प्रशंसा गरेका थिए।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै राजनीतिक विश्लेषक तथा समाजसेवी प्रकाश रायमाझीले सम्मानका लागि सगरमाथा टेलिभिजन परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले सगरमाथा टेलिभिजनले आगामी दिनमा पनि सत्य, निष्पक्ष र जनमुखी पत्रकारितालाई निरन्तरता दिँदै अझ सफलताको नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।
रायमाझीले समाजसेवा र परोपकारका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङको योगदानको समेत प्रशंसा गर्दै उहाँलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
वार्षिकोत्सव समारोहमा टेलिभिजनको १९ वर्षे यात्राको समीक्षा गर्दै आगामी दिनमा पनि निष्पक्ष, विश्वसनीय र जनउत्तरदायी पत्रकारिताप्रति अडिग रहँदै नागरिकको भरोसाको सञ्चार माध्यमका रूपमा आफ्नो भूमिका थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।