काठमाडौं । कमेडियन प्रभात लामाले पूर्वराजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गर्दा आफूलाई धम्की आएको बताएका छन् ।
‘कमेडी नाइट विथ च्याम्पियन’ को पछिल्लो अङ्कमा लामाले पूर्वराजाको क्यारिकेचर गरेका थिए । लामाले पूर्वराजाको क्यारिकेचर गरेपछि कतिपयले आफूलाई रिसाएर म्यासेज गरिरहेको उल्लेख गरेका छन् ।
उनले गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले राष्ट्रपति र प्रधनमन्त्रीको पनि गलत कार्यको व्यङ्ग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु भन्दै पूर्वराजाको क्यारिकेचर गर्दा गलत के भयो ? भनी प्रश्न गरेका छन् ।
साथै, उनले राजा नआउँदै रवाफ देखाएको भन्दै राजा आएको दिन के गर्नुहुन्छ ? भन्ने प्रश्नसमेत गरेका छन् ।
उनले भनेका छन्–
मैले पूर्वराजा ज्ञानेन्द्रको क्यारिकेचरपछि केही साथीहरू रिसाएर म्यासेज, फोन गरिराख्नुभएको छ । म हालको गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधनमन्त्रीज्यूको पनि गलत कार्यको व्यङ्ग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु भने पूर्वराजाको क्यारिकेचर गर्दा गलत के भयो ? तपाईंंको राजा नआउँदै यस्तो रवाफ देखाउनुहुन्छ भने साँच्चै राजा आएको दिन के गर्नुहुन्छ ? मलाई मेरो काम गर्न दिनुस्, तपाईंं तपाईंंको राजा ल्याउँदै गर्नुस् ।
रह्यो कुरा जनजातिले राजाको क्यारिकेचर गरेकोमा असन्तुष्टि, क्षमता र ल्याकत राख्नुहुन्छ भने तपाईंहरू पनि गर्नुस । कलाकारितामा आउनुस् । जातभातको कुरै नगर्नुस् । यो शोभनीय कुरा पनि होइन । अर्को बुझ्नपर्ने कुरा हास्यव्यङ्ग्य कलाकारले जसको क्यारिकेचर गर्दैमा उहाँको मानमर्दन गरिने भन्ने होइन । बरु त्यो पात्रमार्फत धेरै कुरा र विचार ठट्यौली शैलीमा धेरै कुरा व्यक्त गर्न खोजिएको हुन्छ ।
व्यक्तिगत रूपमा उमेरको हिसाबले हेर्ने हो भने पनि पूर्वराजा हजुरबुवा समान हुनुहुन्छ । उहाँलाई गर्नुपर्ने सम्मान र आदर सधैँ उस्तै छ । मलाई राम्ररी थाहा छ, उहाँलाई कुन सम्मान दिनुपर्ने हो भनेर । त्यो तपाईंहरूले सिकाइराख्न परेन । व्यक्तिगत रूपमा उहाँलाई उत्तिकै आदरभाव व्यक्त गर्न सक्छु जति उहाँ सम्मानित र आदरणीय हुनुहुन्छ । त्यसैले मलाई कुनै पनि शैलीको धाक–धम्कीको भाषा प्रयोग नगरिदिनुहोला । कार्यक्रम केवल मनोरञ्जनको लागि तयार पारिएको हो । राजनीतिक अभीष्ट पूरा गर्न, कसैलाई सकाउन वा बनाउन तयार पारिएको कार्यक्रम होइन । हेरेर मज्जाले हाँस्नुहोला । सुझाव चाहिँ दिँदै गर्नुहोला ।
FACEBOOK COMMENTS