काठमाडौं । नेकपा एमालेसँग आश्था राख्ने पत्रकारहरूको ठूलो संगठन प्रेस चौतारी नेपालले आफ्नो स्थापनाको २६औँ स्थापना दिवस मनाएको छ ।
प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीले काठमाडौंको बागबजारस्थित होटेल हार्दिकमा हिजो सोमबार एक विशेष समारोह आयोजना गरी स्थापना दिवस मनाएको हो ।
सङ्गठनले पूर्वअर्थमन्त्री समेत रहेका पार्टीका उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यता तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री भइसकेका पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र जनसंगठन प्रमुख भानुभक्त ढकाललगायत नेताहरूको आथित्यतामा विशेष समारोह आयोजना गरी स्थापना दिवस मनाएको हो । सो कार्यक्रममार्फत चौतारीले पत्रकारितामार्फत महत्वपूर्ण योगदान पुर्याउने विभिन्न ६ जना पत्रकारहरूलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान समेत गरेको छ ।
पुरस्कार प्राप्त गर्नेहरूमा अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारी (हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार), सिन्धुपाल्चोकका माधव नेपाल (अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार), रूकुमपूर्वका महेश केसी (डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार), रौतहटका फणिदेव महत (वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार), काभ्रेपलाञ्चोककी काजल तामाङ (सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार) र रामेछापकी यसिमा महत (चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार) छन् ।
प्रेस चौतारी नेपालले अग्रजहरूको सम्मान तथा क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरी हरेक वर्ष यौ पुरस्कार प्रदान गर्दै आइरहेको जनाएको छ । वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा संगठनका महासचिव हिरामान लामा र सचिव हरिवल्लभ नेपाल सदस्य रहेको पुरस्कार छनोट समितिले पुरस्कृतिहरूको नाम छनोट गरेको हो । पुरस्कृतहरूबाट आगामी दिनमा अझ सशक्त पत्रकारिताको अपेक्षा प्रेस चौतारीले गरेको अध्यक्ष गणेश बस्नेतले बताए । उनका अनुसार पुरस्कारको राशी २०/२० हजार रुपैयाँ छ ।
कार्यक्रममा एमालेले केही समयअघि सञ्चालन गरेको मध्यपहाडी लोकमार्गकेन्द्रित संकल्प यात्रा ‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्पयात्रा’मा केन्द्रित रही आयोजना गरिएको फिचर लेखन प्रतियोगिताका विजेता र सो अभियानमा पत्रकारिताका माध्यमबाट योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
समारोहमा नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्ट, नेपाल पत्रकार महासंघका पूर्वध्यक्ष डा. महेन्द्र विष्ट, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालको समेत सल्लाहकार रहेकी पत्रकार निर्मला शर्मा, प्रेस युनियनका उपाध्यक्ष सलोजा दाहाल, प्रेस सेन्टरका सन्तोष पौडेल, सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उनीहरूले नेपालको पत्रकारिता सङ्कटमा पर्दै गएको चर्चा गर्दै जिम्मेवार सबै सङ्गठन र सरोकारवाला संघसंस्थाहरूले एउटै धारणा बनाएर अघि बढ्नुपर्ने बताएका छन् । विभिन्न सामाजिक सञ्जालबाट प्रवाह हुने अनेक प्रकारका सूचनाहरूमा आम नागरिकको सहज पहुँच हुने भएकाले गलत र पुष्टि नभएका सूचनाहरूबाट मिडिया उपभोक्ताहरू अलमलमा परिरहेको भन्दै वक्ताहरूले चिन्ता समेत व्यक्त गरेका छन् ।
प्रेस चौतारी नेपालका प्रदेश, प्रतिष्ठान र जिल्ला शाखाहरूले हिजो देशैभर विभिन्न रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाएका हुन् ।
FACEBOOK COMMENTS