काठमाडौं । श्रमजीवी पत्रकारहरूको सबैभन्दा ठूलो सङ्गठन प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् ।
चौतारीको १०औँ महाधिवेशन अध्यक्ष ओलीले गर्ने तयारी गरिए पनि अन्तिम समयमा उनले आफू नजाने निर्णय लिएका हुन् । उनी चौतारीको महाधिवेशनका लागि विराटनगरमात्रै होइन आज उपत्यकाबाहिर कुनै पनि कार्यक्रममा सहभागी नहुने उनको सचिवालयले जानकारी दिएको छ ।
‘धेरै पत्रकार साथीहरूको सोधनी भएकोले सम्माननीय प्रधानमन्त्रीको आज काठमाडौं उपत्यकाबाहिर कुनै कार्यक्रम नरहेको स्पष्ट गरिन्छ,’ उनको सचिवालयले भनेको छ ।
महाधिवेशन उद्घाटनका लागि अध्यक्ष ओलीको अनुपस्थितिमा पार्टी महासचिव शंकर पोखरेल विराटनगर पुगेका छन् । ओली नगएपछि बिहान ११ बजे उद्घाटन गर्ने भनिएको उद्घाटनशत्र करिब तीन घण्टापछि भर्खरै सुरू भएको छ ।
‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्नेछ । अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए । महाधिवेशनले चौतारीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा झण्डै ९०० जना प्रतिनिधिले सहभागिता जनाएको महासचिव लामाले जानकारी दिए ।
सङ्गठनको भावी नेतृत्वका लागि अध्यक्षमा उपाध्यक्षद्वय राजेश राई र गणेश पाण्डे तथा महासचिवमा सुरोजंग पाण्डेको स्पष्ट उम्मेदवारी घोषणा भएको छ ।
प्रेस चौतारी नेपालका विभिन्न पदका लागि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा भए पनि सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास हुने सङ्गठनका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । उनका अनुसार महाधिवेशनमा पद खोज्ने तर पार्टी र सङ्गठनको काममा नलाग्नेलाई नेता नबनाइने स्पष्ट पारेका छन् ।
‘भरसक सहमतिको प्रयास हुन्छ, सहमति जुट्न सकेन भने स्वस्थ प्रतिस्पर्धा हुन्छ, तर चुनावमा बदमासी गर्नेहरू उम्मेदवार हुन पाउँदैनन्’, अध्यक्ष बस्नेतले भने ।
यो पनि पढ्नुहोस्–
प्रेस चौतारी नेपालको महासचिवमा सुरोजंग पाण्डेको उम्मेदवारी घोषणा
प्रेस चौतारीमा राजेश र गणेश आमनेसामने बन्दै, सात दिन नपुग्दै किन आयो पाण्डेको राजीनामा ?
FACEBOOK COMMENTS