काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
नयाँ सरकार बनेपछि सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै प्रश्न उठिरहेको थियो । यसैबीच आइतबार साँझ प्रधानमन्त्रीसहितका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको विवरणमा उनको र परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति उल्लेख छ ।

प्रधानमन्त्री शाहले आफ्नो अन्य सम्पत्ति विवरणमा फेसबुक, युट्युब र ट्वीटरलाई समेत उल्लेख गरेका छन् । यसका साथै काठमाडौँमा पाँच आना जग्गा रहेको पनि जनाइएको छ ।
पारिवारिक सम्पत्ति: धनुषामा १.२ बिघा जग्गा ध्रुवदेवी शाह (आमा) को नाममा रहेको उल्लेख छ । त्यस्तै महोत्तरीमा रामनारायण शाह (बुवा) को नाममा ९ बिघा जग्गा रहेको विवरणमा जनाइएको छ ।

श्रीमती सविना काफ्लेको नाममा १९० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ, जसलाई पैतृक सम्पत्तिको रूपमा जनाइएको छ । प्रधानमन्त्री कार्यालयमार्फत आइतबार प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।