काठमाडौं । मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
उक्त सेयर निष्काशनका लागि संस्थागत परामर्श तथा निष्काशन र बिक्री प्रबन्धकको रूपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ ।
बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोषकुमार भण्डारी र मेची इन्डष्ट्रिजका अध्यक्ष पवन घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
बिक्री प्रबन्धकको रूपमा नियुक्त नेपाल एसबिआई मर्चेण्ट बैंकिङ, नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त यस संस्थाले लगानी व्यवस्थापन, धितोपत्र निष्काशन, प्रत्याभूति, हितग्राही खाता सञ्चालन र सेयर रजिष्ट्रार जस्ता विभिन्न मर्चेण्ट बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
झापाको दमक, ताराबारीमा अवस्थित मेची इन्डष्ट्रिज लिमिटेडले स्वदेशी कच्चा पदार्थ बालुवा, सिमेन्ट र चुनमा आधारित अटोक्लेभ्ड एरेटेड कङ्क्रिट (एएसी) ब्लकहरू उत्पादन गर्दै आएको छ ।

महेन्द्र राजमार्गबाट २०० मिटर भित्र आफ्नै स्वामित्वको जग्गामा सञ्चालित यस उद्योगले वार्षिक २१ लाख ६० हजार थान ब्लक उत्पादन गर्ने क्षमता राख्दछ । उच्च चापयुक्त बाफ प्रविधिबाट उत्पादित यी ब्लकहरू हलुका, ताप प्रतिरोधी र अग्नि प्रतिरोधी हुनुका साथै परम्परागत इँटाको उत्कृष्ट र वातावरणमैत्री विकल्पका रूपमा चिनिन्छन् ।

कम्पनीले हाल एएसी ब्लकका अतिरिक्त एडेसिभ, रेडिमिक्स प्लाष्टर र वालपुट्टी उत्पादनका लागि आवश्यक प्लान्ट तथा मेसिनरी जडानको कार्यलाई समेत तीव्रता दिएको छ, जसलाई केही समयभित्रै बजारमा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।