काठमाडौँ । भारत सरकारले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच सातामा एकपटक रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।
भारतीय रेल मन्त्रालयले शनिबार उक्त प्रस्ताव अनुमोदन गरेसँगै दुई धार्मिक तथा सांस्कृतिक सहरलाई रेलमार्गबाट जोड्ने बाटो खुलेको हो ।
प्रस्तावित रेल सेवा जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म सञ्चालन हुनेछ । करिब ६०४ किलोमिटर लामो यात्राका क्रममा रेलले बिहार र उत्तर प्रदेशका विभिन्न सहर तथा बस्ती पार गर्नेछ ।
यसले दुई देशबीचको आवागमनलाई थप सहज बनाउनुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
भारतीय रेल मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार जनकपुरधाम र अयोध्या क्यान्ट रेल सेवाका सुरुआती तथा अन्तिम गन्तव्य रहनेछन् ।

बीचका स्टेसनमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम समेटिएका छन् । ती स्थानमा यात्रुको सुविधाका लागि व्यावसायिक प्रयोजनअन्तर्गत रेल रोकिने व्यवस्था प्रस्ताव गरिएको छ ।

निर्धारित तालिकाअनुसार जनकपुरधामबाट प्रत्येक शनिबार रेल प्रस्थान गर्नेछ भने अयोध्या क्यान्टबाट सोमबार छुट्नेछ । सातामा एकपटक सञ्चालन हुने यो सेवाले नेपाल र भारतबीच नियमित रेल यात्राको नयाँ सम्भावना सिर्जना गर्ने देखिएको छ ।

विशेषगरी जनकपुरधामस्थित जानकी मन्दिर र अयोध्याको राम मन्दिर दर्शन गर्न जाने श्रद्धालुका लागि रेल सेवा सहज माध्यम बन्न सक्नेछ । धार्मिक यात्राका अतिरिक्त अध्ययन, रोजगारी, व्यापार तथा पारिवारिक भेटघाटका लागि सीमापार आवतजावत गर्ने यात्रुले पनि यसको लाभ लिन सक्नेछन् ।

