काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा फेसबुक भिडियो केही समयका लागि हटेको विषयले गम्भीर रूप लिएको छ ।
घटनामा मेटाले सरकारसँग माफी माग्दै कुनै पनि नीतिगत उल्लंघनका कारण नभई प्राविधिक गडबडीका कारण भिडियो हटाएको स्वीकार गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
गडबडीबारे थाहा हुनेवित्तिकै भिडियोलाई तुरुन्तै प्लेटफर्ममा पुनर्वहाल गरिएको पनि कम्पनीले स्पष्ट पारेको समाचारमा उल्लेख छ ।
प्रधानमन्त्रीको आधिकारिक भिडियो किन हटाइयो र मेटाले दिएको प्राविधिक गडबडीको स्पष्टीकरण कति सत्य छ भन्ने पत्ता लगाउन सम्बन्धित विभागहरू जुटेका छन् ।
यसमा मेटाका प्रतिनिधिहरू र सम्बन्धित अधिकारीहरूलाई स्पष्टीकरणका लागि बोलाउन सकिने बताइएको समाचारमा उल्लेख छ ।
मेटाका प्रवक्ताले विज्ञप्ति जारी गर्दै सम्बन्धित कन्टेन्ट गल्तीवश हटेको र अहिले त्यसलाई पूर्ण रूपमा पुनर्वहाल गरिएको बताएका छन् । यसका लागि कम्पनीले खेद पनि प्रकट गरेको छ।
जानकारीअनुसार मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमा यो भिडियो भारतमा केही समयका लागि देखिन बन्द भएको थियो । पछि प्रतिबन्ध हटेपछि यो फेरि सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध भएको हो ।
उक्त भिडियो गत जुलाई २३ मा अपलोड गरिएको थियो। भिडियोमा प्रधानमन्त्री मोदीले कक्रोज जनता पार्टीद्वारा आयोजित विद्यार्थी प्रदर्शनका क्रममा पहिलो पटक जेन–जीलाई सम्बोधन गर्दै आफ्नो सन्देश दिएका थिए । आफ्नो सम्बोधनमा उनले नीट पेपर लीक मामिलामा कडा कारबाहीका लागि छिट्टै नयाँ तथा कडा कदम चालिने कुरा बताएका थिए।
यसअघि इन्स्टाग्राममा यो भिडियो २४ घण्टाभित्र ३० करोडभन्दा बढी पटक हेरिएको थियो, जबकि फेसबुकमा भने केही समयका लागि यसको पहुँच सीमित गरिएको थियो ।