काठमाडौं । नेपालका एएसी. (अटोक्लेभ्ड एरेटेड कङ्क्रिट) ब्लक उत्पादक कम्पनीमध्ये अग्रणी मेची इन्डस्ट्रिज लिमिटेडले उत्पादन क्षमता विस्तारका लागि भारतको लक्ष्मी इन–फ्याब प्राइभेटसँग सम्झौता गरेको छ।
निर्माण सामग्री उत्पादन क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउने उद्देश्यसहित मेची इन्डस्ट्रिज र भारतको प्रविधि प्रदायक कम्पनी लक्ष्मी इन–फ्याबबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार मेची इन्डस्ट्रिजले आफ्नो एएसी ब्लक उत्पादन क्षमतामा मासिक ५ हजार घनमिटर थप गर्ने भएको छ। उत्पादन क्षमता विस्तारसँगै कम्पनीले निर्माण क्षेत्रमा प्रयोग हुने अन्य सामग्री उत्पादनमा समेत प्रवेश गर्ने योजना अघि सारेको छ।
कम्पनीले मोटार एडेसिभ, रेडिमिक्स प्लास्टर, टाइल एडेसिभ तथा वाल पुट्टी उत्पादनका लागि आवश्यक आधुनिक प्लान्ट तथा उपकरण खरिद गर्ने निर्णय गरेको जनाएको छ। यसका लागि सम्बन्धित आपूर्तिकर्तासँग खरिद सम्झौतासमेत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ प्रविधि र उत्पादन विस्तारले निर्माण क्षेत्रमा गुणस्तरीय तथा वातावरणमैत्री सामग्रीको उपलब्धता बढाउनेछ। साथै, नेपाल र भारतबीचको औद्योगिक सहकार्यलाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ।
मेची इन्डस्ट्रिजले व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउँदै तीनवटा आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ। कम्पनीले गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत आईएसओ ९००१:२०१५, वातावरणीय व्यवस्थापन प्रणालीअन्तर्गत आईएसओ १४००१:२०१५ र व्यावसायिक स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन प्रणालीअन्तर्गत आईएसओ ४५००१:२०१८ प्रमाणपत्र प्राप्त गरेको जनाएको छ।
यी प्रमाणपत्रले कम्पनीको उत्पादन गुणस्तर, वातावरणीय जिम्मेवारी, संस्थागत व्यवस्थापन र कर्मचारी सुरक्षाप्रतिको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय मान्यता दिएको कम्पनीको भनाइ छ।
मेची इन्डस्ट्रिजका अध्यक्ष पवन घिमिरेले उत्पादन विस्तार र अन्तर्राष्ट्रिय मापदण्डका प्रमाणपत्र प्राप्तिले कम्पनीको दीर्घकालीन रणनीतिलाई थप मजबुत बनाएको बताए।
उनका अनुसार कम्पनीले आगामी दिनमा निरन्तर सुधार, वातावरणमैत्री औद्योगिक अभ्यास, नवप्रवर्तन र गुणस्तरीय उत्पादनमार्फत नेपालको औद्योगिक विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
मेची इन्डस्ट्रिजको पछिल्लो विस्तारले नेपालमा निर्माण सामग्री उद्योगको आधुनिकीकरण, उत्पादन क्षमता वृद्धि र स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।