काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले निर्माण व्यवसायीविरुद्ध दिएको अभिव्यक्ति सभापति रवि लामछिानेले सच्याउने प्रयास गरेका छन् ।
आज इटहरीमा आयोजित चुनावी कार्यक्रममा बालेनसँगै देखिएका सभापति लामिछानेले बालेनको बचाउन गर्दै विज्ञप्ति निकालिरहन नपर्ने बताए ।
‘रास्वपाले आफ्ना कुरा राख्दा कतिपय मान्छे आत्तिएको देखिएको छ,’ सभापति लामिछानेले भने, ‘म निर्माण व्यवसायी साथीहरुलाई भन्न चाहन्छु, तपाईंहरूले विज्ञप्ति निकालिरहन पर्दै । ठूला/ठूला इक्वीपमेन्ट खरिद गर्ने तयारी गर्नुहोस्, रातारात कसरी विकास निर्माण गर्ने हो, त्यतातिर लाग्नुहोस् । देश विकासको दिशामा अघि बढिसक्यो । हामी असुरक्षित भएका हौं कि भन्नुभएको छ । त्यस्तो हुँदैन । हामीले डोरीले बाँध्ने भनेको होइन, कानुनले बाँध्ने भनेका हौँ ।’
वरिष्ठ नेता साहले गत बुधबार धनगढीमा आयोजित चुनावी सभामा निर्माण कार्यमा भइरहेको ढिलाईप्रति निर्माण व्यवसायीहरूलाई लक्षित गरी ‘दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नु पर्ने त्यो हो हाम्रो एजेण्डा, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नु पर्यो’ भन्दै अराजक शैलीको अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिप्रति कडा आपत्ति प्रकट गर्दै निर्माण व्यवसायी महासंघले हिजो सोमबार पत्रकार सम्मेलन गरी अविलम्ब सार्वजनिक रुपमा आत्मालोचना गर्न माग गरेको थियो । महासंघले सस्तो लोकप्रियताका लागि व्यक्त उक्त धारणा निर्वाचन आचारसंहिता विपरीत, असभ्य सँगैसँगै अत्यन्त उत्तेजक समेत रहेको ठहर गरेको छ ।

‘सस्तो लोकप्रियताका लागि व्यक्त धारणा निर्वाचन आचार संहिता विपरीत असभ्य सँगैसँगै अत्यन्त उत्तेजक समेत रहेको महासंघको ठम्याइ छ,’ विज्ञप्तिमा भनिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा समेत प्रस्तुत गरिएका र प्राविधिक व्यक्ति (इन्जिनीयर) को पृष्ठभूमिका व्यक्तिले निर्माण कार्यहरूमा भइरहेका ढिलाइका विषयमा वास्तविक सत्यतथ्य बुझी समाधानको बाटो पहिल्याउनु पर्नेमा त्यस किसिमको अमर्यादित अभिव्यक्ति दिनु अराजक शैली भएको महासंघको निचोड छ ।

‘मुलुकमा विद्यमान ऐन, कानुनहरू नै विकास निर्माणका बाधक भएको तथ्य जगजाहेर भइसकेको परिप्रेक्ष्यमा एक जिम्मेवार पार्टीका जिम्मेवार पदाधिकारीबाट निर्वाचनको पूर्वसन्ध्यामा मुलुकका ३० हजार भन्दा बढी निर्माण व्यवसायीहरूको तेजोबध गर्ने किसिमले आएको उक्त अभिव्यक्तिप्रति अविलम्ब सार्वजनिक रुपमा आत्मालोचना गर्न महासंघ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

बालेनको अभिव्यक्तिप्रति निर्माण व्यवसायीको आपत्ति, माफी माग्न माग
FACEBOOK COMMENTS