वीरगन्ज । सहकारी ठगीलगायत मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेविरुद्ध उस्तै प्रकृतिको अर्को मुद्दा दायर भएको छ ।
लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय पर्साले सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको हो । उक्त मुद्दामा उनीसँग पाँच करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ र नेचर हब्र्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो ।
सानो पाइलाबाट काठमाडौंमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा मात्र १ अर्ब १५ करोड ९१ लाख ४४ हजार ३ सय ९५ रुपैयाँ ट्रान्सफर भएको अनुसन्धानमा खुलेको छ ।
वीरगञ्ज–६ आदर्शनगरमा कार्यालय स्थापना गरी सन्चालन गरिएको सानो पाइला सहकारीले स्थानीय ५ हजार ८ सय ७३ बचतकर्ताको कूल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ अपचलन भएको अनुसन्धानमा खुलेको छ ।
२०८० साउन २१ गते नाजनिन बेगमसहित ५२ बचतकर्ताले ४ करोड ३४ लाख २४ हजार २३ रुपैयाँ सानो पाइला सहकारीले अपचलन गरेको दाबीसहित जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए भने विशाल सहनी गोढीसमेत २ सय ७ बचतकर्ताले आफूहरूको ४ करोड ५८ लाख १४ हजार ४ सय २१ रुपैयाँ अपचलन भएको दाबी सहित २०८० भदौ २२ गते जाहेरी दिएको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
FACEBOOK COMMENTS