काठमाडौं। म्याट्रिक्स फाइट नाइट एमएन–१७ च्याम्पियन रवीन्द्र ढाँटलाई बझाङको दुर्गाथली गाउँपालिकाले एक लाख ११ हजार १११ रुपैयाँ सहित सम्मान गर्ने भएको छ ।
बुधबार साउन २१ गाउँपालिकाले सूचना जारी गर्दै रवीन्द्रलाई एमएन–१७ को च्याम्पियन बनेकामा बधाई ज्ञापन गरिएको छ । उक्त नगद राशि प्रदान गरिने जनाइएको छ ।
“प्रतिभावान् खेलाडी रवीन्द्रको आगामी खेल यात्राको थप सफलताको शुभकामना व्यक्त गर्नुका साथै पालिकाको तर्फबाट सम्मानस्वरूप रु १,११,१११र–एक लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्दछौँ,” सूचनामा उल्लेख छ । रवीन्द्र ‘बझांगी बाघ’ उपनामले परिचित छन् । गएको शनिबार साउन १८ गते भारतको नोएडामा भएको फाइनलमा त्यहाँका नम्बर वान चेग्रोन कोरेनलाई नकआउट गर्दै उनी च्याम्पियन बनेका हुन् ।उनले कोरेनलाई तेस्रो राउन्डमा नकआउट गरेका थिए । रवीन्द्रले ‘लक एन्ड रोल’ एमएमए नेपाल टिमबाट प्रतियोगितामा सहभागिता जनाएका थिए । उनी एसिया प्रशान्त क्षेत्रमा २२८ स्थानमा रहेका एमएमए फाइटर हुन् । एसिया प्रशान्त उपक्षेत्रको पनि वरीयताभित्र समावेश छन् ।
FACEBOOK COMMENTS