काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ५० जनाविरुद्ध राजद्रोहको कसुरमा मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले करिब दुई महिना लामो अनुसन्धानपछि गरेको सिफरिस अनुसार सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा आज आइतबार मुद्दा दर्ता गरेको हो ।
पक्राउ परेकाहरूविरुद्ध राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धीलगायत विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको छ ।
चैत १५ को प्रदर्शनमा दुई व्यक्तिको मृत्यु हुनाका साथै २० जना घाइते भएका थिए । सोही घटनामा पक्राउ परेका राप्रपा नेता धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायत हाजिर जमानतमा छुटिसकेका छन् । तर, उनीहरूविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।
स्रोतका अनुसार राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरूद्ध राजद्रोहमा मुद्दा दर्ता भएको छ भने उक्त आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनाविरूद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।
आन्दोलनका नाममा आगजनी, चोरी, लुटपाटलगायत कार्यमा संलग्न ठानिएका १०८ जनामध्ये प्रहरीले ९० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तीमध्ये १८ जनालाई फरार प्रतिवादी कायम गरिएको थियो । संलग्न १०८ जनामध्ये ३४ जनालाई कुनै पनि मुद्दा लगाउन नपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो ।
FACEBOOK COMMENTS