काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्र पक्षधरहरूले गर्दै आएको आन्दोलन छिन्नभिन्न भएको छ ।
जेठ १५ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन सुरू गरेका राजावादी दलहरू राप्रपा, राप्रपा नेपाल र संयुक्त जनआन्दोलन समितिलगायत समूहबीच वैचारिक विभाजन देखिएको हो ।
काठमाडौंकेन्द्रित आन्दोलनको चौथो दिन हिजो आइतबार उनीहरूले नक्सालस्थित नारायणचौरमा प्रदर्शन गरेका थिए । त्यसक्रममा नारायणचौरबाट निषेधित क्षेत्र तोड्दै बालुवाटारतर्फ अगाडि बढ्ने प्रयास गरेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
लगत्तै प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वास्तविक आन्दोलन आज सोमबारदेखि सुरू हुने बताएका थिए । उनले पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष थापासहितलाई हिजै सम्मानजनक रूपमा रिहा नगरे ‘आगो बल्ने’ चेतावनीसमेत दिएका थिए ।
सोहीबीच राप्रपा नेपालका अध्यक्ष थापालाई भेट्न पुगेका राप्रपाका प्रतिनिधिसभा सांसद दीपकबहादुर सिंहलाई समेत प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो सङ्ख्या सात पुग्यो । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएका थापालाई भेट्न जाँदा प्रहरीले सिंहलाई परिसर क्षेत्रबाटै नियन्त्रणमा लिएको थियो ।
त्यसपछि साँझ संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै आज सोमबार काठमाडौं उपत्यका बन्द गर्ने घोषणा गरेका थिए ।
तर, राप्रपा नेपालका अध्यक्ष थापा र राप्रपाका सांसद सिंहसहित पक्राउ परेका सात जनालाई नै प्रहरीले हिजै साँझ रिहा गर्यो ।
आफ्ना नेताहरू रिहा भएसँगै राप्रपाले संयुक्त जनआन्दोलन समितिले घोषणा गरेको काठमाडौं उपत्यका बन्दको कार्यक्रममा सरिक नहुने सूचना दियो । राप्रपाका अध्यक्ष लिङ्देनले हिजो साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उपत्यका बन्दको कार्यक्रममा आफ्नो पार्टीको सहभागिता नरहने जानकारी गराएका थिए ।
सामान्यतया राप्रपा बन्द हडताल जस्ता अलोकप्रिय कार्यक्रमको विपक्षमा रहेको भन्दै लिङ्देनले आफ्ना नेताहरू रिहा पनि भइसकेकाले बन्दको कार्यक्रममा सहभागी नहुने बताएका थिए । उनले आन्दोलनका अन्य नियमित कार्यक्रममा सल्लाह गरेर निर्णय भएपछि राप्रपाले सक्रिय सहभागिता जनाउने उल्लेख गरेका थिए ।
‘आजको प्रदर्शनमा भएको हस्तक्षेपको भर्त्सना गर्दै प्रहरी दमनमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य माननीय दीपक सिंहलगायत आज पक्राउ परेका सबै नेता–कार्यकर्ताहरू रिहा हुनुभएको छ,’ फेसबुकमा उनले लेखेका थिए, ‘सामान्यतया राप्रपा बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ । आज सरकारको तर्फबाट पक्राउमा परेका नेता–कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको प्रसङ्ग उठेको भए पनि पक्राउ परेका नेता–कार्यकर्ताहरू रिहा भइसक्नुभएको हुँदा भोलि हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु । आन्दोलनका अन्य नियमित कार्यक्रममा सल्लाहबाट निर्णय भएपश्चात् हाम्रो सक्रिय सहभागिता रहनेछ ।’
सोहीबीच, राप्रपाले बन्दको कार्यक्रममा सहभागी नहुने जनाउ दिएपछि नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले पनि हिजै साँझ विज्ञप्ति जारी गर्दै आजका लागि घोषित उपत्यका बन्दको कार्यक्रम फिर्ता लियो । राप्रपाले बन्दको कार्यक्रमबाट हात झिकेपछि राप्रपाकै लयमा समितिले आन्दोलनका क्रममा पक्राउ परेका ‘सबै साथीहरू’ रिहा भइसकेको भन्दै बन्दको कार्यक्रम फिर्ता लिएको जनायो ।
समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।’
सोझो हिसाबले हेर्दा राप्रपा र जनआन्दोलन समितिले पक्राउ परेका नेता–अभियन्ताहरूको रिहाइलाई लिएर उपत्यका बन्दको घोषणा फिर्ता लिएको जस्तो देखिए पनि यसको अन्तर्य भने भिन्न छ । उपत्यका बन्दसहित आन्दोलनलाई थप सशक्त बनाउने निर्णयमा पुगेको आन्दोलन समितिलाई राप्रपाले आफ्नो साथ नरहेको सङ्केत दिएपछि समितिले बन्दको कार्यक्रम फिर्ता लिएको स्पष्ट बुझिन्छ । राप्रपाका अध्यक्ष लिङ्देनले बन्दको कार्यक्रम फिर्ता लिएको नभनेर राप्रपाको सहभागिता नरहने भन्नुले पनि यस विषयलाई थप प्रस्ट पार्छ ।
राजावादीहरूबीच देखिएको यस्तो मतभेदपछि अब आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने प्रश्न उठ्न थालेको छ । एकै एजेण्डा बोकेर आन्दोलनमा होमिएका दल र समूहबीच नै मतैक्यता नदेखिएपछि आन्दोलनको भावी दिशाबारे प्रश्न उठ्न थालेको हो । समग्रतामा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको नेतृत्व नै आपसमा अस्वीकार्यजस्तो पनि देखिन्छ ।
स्मरणीय छ, गत चैत १५ गते तीनकुनेमा भएको राजसंस्था पक्षधरहरूको आन्दोलनको नेतृत्व मेडिकल व्यवसायीसमेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले गरेका थिए । तर, प्रहरीले उनलाई पक्राउ गरेसँगै सो समूह त्यसपछि भएका राजसंस्था पक्षधरहरूको कुनै पनि आन्दोलनमा सहभागी छैन । यस्तै, राजसंस्थाको पक्षमा वकालत गर्ने दल राप्रपा नेपाल पनि हालसालै मात्र आन्दोलनमा मिसिएको हो । जेठ १५ अगाडि भएका आन्दोलनमा उसको सहभागिता थिएन ।
यसप्रकार, राजसंस्था र हिन्दुराष्ट्र फर्काउने अभियानमा लागेका दल र समूह नै आपसमा विभाजित हुँदै गएका छन् । उनीहरूको एजेण्डा एक भए पनि एजेण्डामा एकताबद्ध भएर अगाडि बढ्न सकिरहेका छैनन् । राजावादीहरूको आन्दोलनले ‘राजाको नाममा आफ्नै रोटी सेक्ने’ काम मात्र गरेको देखिन्छ । राप्रपा र राप्रपा नेपालले राजसंस्था र हिन्दुराष्ट्र यथार्थमै पुनर्स्थापना गर्ने दिशामा लाग्नुको सट्टा आ–आफ्नो पार्टीका पक्षमा जनमत बढाउनका लागि मात्रै सो एजेण्डालाई हतियारको रूपमा प्रयोग गरेको जस्तो देखिन्छ ।
आफ्नो पक्षका नेता–कार्यकर्ता तथा अभियन्ता पक्राउ पर्दा तथा छुट्दा आन्दोलनबाटै अलग हुने तथा आफूअनुकूल मात्र आन्दोलनमा सहभागी हुने प्रवृत्तिले राजावादीहरूको आन्दोललाई दिनप्रतिदिन क्षति पुगिरहेको छ ।
FACEBOOK COMMENTS