काठमाडौं । त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् ।
२१.१ किलोमिटरको हाफ म्याराथनको पुरुषतर्फ राजन विजयी भएका हुन् भने महिलातर्फ सन्तोषी विजेता बनेकी हुन् ।
कान्तिपुर मिडिया ग्रुपको आयोजनामा ‘रन फर नेपाल’ नारासहित शनिबार कान्तिपुर हाफ म्याराथनको १४ औँ संस्करण आयोजना भएको हो ।
दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण र चार पटक ओलम्पिकमा सहभागिता जनाइसकेका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले दौडको उद्घाटन गरेका थिए ।
राजनले उक्त दुरी १ घण्टा ४.०३ सेकेण्डमा पुरा गरे । सन्तोषीले भने १ घण्टा १८.११ मिनेटमा निर्धारित दुरी पार गरिन् । कान्तिपुर हाफ म्याराथनका विजेताले एक लाख ५० हजार र ट्रफी प्राप्त गरेका छन् ।
