विश्वव्यापी कोरोना महामारीमा समेत टिकेको नेपाली अटो बजार पछिल्लो समय चरम बनेको तरलता अभावका कारण खस्कँदो अवस्थामा पुगेको छ ।
बजारमा तरलता अभाव बढिरहँदा मोटरसाइकल तथा स्कुटर किन्न चाहाने ग्राहकहरू ‘सेभिङ मुड’मा गएका कारण नेपालमा मोटरसाइकल तथा स्कुटरको विक्री ह्वात्तै घटेको एमएडब्ल्यू इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु श्रेत्रीको बुझाइ छ ।
नेपालमा यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता समेत रहेको एमएडब्ल्यू इन्टरप्राइजेजका सीईओ क्षेत्रीसँग दुईपाङ्ग्रे सवारी साधनको विक्रीको अवस्था र बजार प्रवर्द्धनको योजनालगायत विषयमा केन्द्रित रहेर कर्पोरेट खबर डटकमले विशेष कुराकानी गरेको छ । प्रस्तुत छ, सीईओ क्षेत्रीसँगको भिडियोसहितको कुराकानीः–
पछिल्लो समय नेपालमा यामाहा मोटरसाइकल तथा स्कुटरहरूको विक्री र सेवाको अवस्था कस्तो छ ?
समग्र बजारलाई हेर्ने हो भने त्यति नराम्रो त होइन । तर, आज भन्दा दुई÷तीन महिनाअघि जुन अवस्था थियो त्यसको तुलनामाचाहिँ बजारको अवस्था अहिले चिन्ताजनक नै छ । सम्भवतः यो चिन्ता यामाहामा मात्रै लागू भएको छैन होला । समग्र अटो उद्योगमा नै यो सङ्कट आएको हो कि भन्ने मेरो बुझाइ छ ।
नेपालको अटो उद्योगमा सङ्कटको सङ्केत देखिनाको कारण के–के हो ?
गएको दशैं, तिहार र छठ पर्वसम्म पनि अवस्था राम्रै थियो । त्यसपछि क्रमशः बजार सुस्ताउँदै गयो । पछिल्लो समयमा आएर लिक्युडिटीलगायत समस्याका कारण ग्राहकहरूसँग पनि पैसाको अभाव हुँदै गयो । त्यतिमात्र होइन डिलरहरूलाई समेत अहिले समस्या परिरहेको छ । एलसी खोल्न तथा पैसा रोटेशन गर्न उनीहरूलाई एकदमै अप्ठ्यारो भइरहेको छ । हामी पुरानो कम्पनी एमएडब्ल्यूलाई समेत गाह्रो भइरहेको स्थिति अहिले छ ।
जस्तो हामीले दुई महिना अघिसम्म एलसी खोल्दा पाँच प्रतिशत मार्जिन राख्दा हुन्थ्यो भने ५० प्रतिशत राख्नुपर्ने स्थिति आएको छ । यसले मानौं पाँच रूपैयाँमा हुने काम ५० रूपैयाँमा गर्नुपर्नेजस्तो स्थिति सृजना भएको छ । त्यसले हामीलाई अप्ठ्यारो बनाउँदै समग्र परिस्थिति असहजोन्मुख बन्दै गएको छ ।
जुन–जुन समस्याका कारण नेपालको अटो उद्योग सङ्कटोन्मुख बन्दै गएको छ ती समस्या समाधान गर्न सरोकारवालाहरूबाट के–कस्तो अपेक्षा राख्नुहुन्छ ?
पहिलो कुरा त सरकारले बजेट खर्चलाई जतिसक्दो बढाउनुपर्यो । बजारमा पैसाको सर्कुलेशनमा यसले ठूलो अर्थ राखिरहेको हुन्छ । त्यस्तै पर्यटन, रेमिटेन्स र अन्य थुप्रै कारणहरूले पनि हाम्रो बजारमा समस्या पर्न जान्छ । विशेषगरी अहिले लिक्युडिटीको समस्याका कारण नै बजारमा समस्या आइरहेको हाम्रो बुझाइ छ ।
एउटा आशाको कुरा के छ भने आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा गरिएको छ । त्यसले बजारमा केही चहलपहल बढाउँछ कि भन्ने आशा हामीले गरेका छौं ।
समस्याहरूका बीच पनि व्यापार–व्यवसायलाई निरन्तरता दिइराख्नुभएकै छ, व्यापार प्रवर्द्धनका लागि कुनै योजनाहरू पनि बनाउनु भएको छ कि ?
हामीले यसअघि गर्दै आएका प्रवरद्र्धनात्मक गतिविधिलाई नै हामीले अहिले निरन्तरता दिइरहेका छौं । अहिले ठूलो खर्च गरेर कुनै त्यस्तो खास कार्यक्रमहरू ल्याउने अहिले समय छैन । पहिला दैनिक १० जना ग्राहकले कुनै पनि शोरूम भिजिट गर्दा ६ देखि ७ जनाले मोटरसाइकल वा स्कुटर किनेरै फर्किने अवस्था थियो । तर, अहिले ‘फुटफल’ नै घटेको अवस्था छ । अर्थात् अहिले एउटा शोरूममा दैनिक ४–५ जना मात्रै आउने गरेका छन् । अहिले ग्राहकहरू खर्च नगरी सञ्चित मुडमा गएकोजस्तो हामी पाउँछौं । त्यसर्थ हामीले ठूलो खर्च गरेर कुनै नयाँ प्रवर्द्धनात्मक योजना ल्याउनुको खास औचित्य नै छैन ।
उहाँसँगको थप सम्वादका लागि यो भिडियो हेर्नुहोस–
FACEBOOK COMMENTS